काठमाडौं । नेपालमा यतिखेर धान रोपाईंको मुख्य सिजन चलिरहेको छ । तर धान रोपाईंको यस्तो मध्य सिजनमा विशेषगरी मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा यस बर्षातको समयमा जति बर्षा हुनुपर्ने त्यो अनुसार नभएर अत्यन्तै कम वर्षा भएपछि खानेपानीको अभावका साथसाथै सिंचाइ अभाव भएको छ । यसले कृषि कार्य तथा धान रोपाईंमा मुख्य समस्या भएको छ ।
कृषियोग्य जमिनमा करिब ४६.४७ प्रतिशत मात्र धान रोपाईं भएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन् । त्यसैले चारजना मन्त्रीहरु एक ठाउँमा बसेर समस्या समाधान गर्नका लागि जुटेको मन्त्री अधिकारीले जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘बाँकी क्षेत्रमा रोपाईं गर्नका लागि तत्काल आवश्यक सम्बोधन गर्न हामी ४ जना (उर्जा, जलस्रोत तथा सिंचाइ, खानेपानी, कृषि तथा पशुपन्छी विकास र कानुन) मन्त्रीज्युहरू, सम्बन्धित मन्त्रालयको सचिव र सहसचिवहरूको उपस्थितिमा यसका समाधानका लागि महत्वपूर्ण छलफल गरियो ।’
समस्याको समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेश सुख्खा क्षेत्रको अध्ययन तथा समस्या समाधानको लागि आवश्यक सुझाव दिनका लागि मन्त्रालयको वरिष्ठ अधिकृतहरूको नेतृत्वमा ईन्जिनियर सहितको टोली मधेश प्रदेशका ८ वटै जिल्लाहरूमा खटाइसकिएको जनाएको छ । त्यसैगरी चारजना मन्त्रीहरुसहितको बैठकले सोमबार ४ वटै मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्वमा एक कार्यदल गठन गरेको मन्त्री अधिकारीले जनाएका छन् । उक्त कार्यदलले तत्काल समस्या पहिचान गरी शीघ्र समाधानका उपायहरू कार्यान्वयनतर्फ अग्रसर रहि आवश्यक कदम चाल्ने बताइएको छ ।






















