Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पहिलो पटक नेपालमा एआई आचार संहिता जारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धी आचार संहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले “अनलाइन टिभी एआई आचार संहिता २०८२” जारी गरेको हो । काठमाडौमा सोमबार आयोजित आचार संहिता घोषणा समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचार संहिता घोषणा गरेका हुन् ।

एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचार संहिताको आवश्यकता भएकाले एआई आचार संहिता जारी गरिएको भण्डारीको भनाई छ ।

उनका अनुसार एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने संभावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरुलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचार संहिताको आवश्यकता महसुस गरिएको हो ।

मिडिया सम्वन्धी धेरै काममा नेपालको पहिलो एआई अभ्यासकर्ता समेत रहेका भण्डारीले एआई सम्वन्धी नेपालको पहिलो आचार संहिता नै अनलाइन टिभी एआई आचार संहिता भएको दाबी समेत गरे ।

सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी अधिकारीले अनलाइन टिभी पत्रकार संघद्वारा सार्वजनिक गरिएको एआई आचार संहिता २०८२ लाई नेपालकै पहिलो औपचारिक एआई आचार संहिता भएको दाबी गरेका छन्।

प्रविधिको परिवर्तनशील धार उल्लेख गर्दै उनले वर्तमान युगलाई प्रोम्ट इन्जिनियरिङको युग भने।

“अब निर्देश प्रोम्ट दिने शैली नै नयाँ कोड लेख्ने कला हो। तपाईंले एआईलाई कस्तो निर्देशन दिनुभयो भन्ने कुराले नतिजा तय गर्छ। यसले मानव सृजनात्मकताको अझै पनि मूल शक्ति भएको प्रमाण दिन्छ,” उनले बताए। डिपफेक प्रविधिबाट सत्य र झुटोको सीमा धमिलिँदै गएको सन्दर्भमा अधिकारीले नैतिक मूल्यहरूको आवश्यकता अझ बलियो भएकोमा जोड दिए। “डिपफेक प्रविधिले सत्य र झुटोको सीमाना मेटाइरहेको अवस्थामा हामीले नैतिकताको दायरालाई मजबुत बनाउनैपर्छ,” अधिकारीले भने।

पत्रकारिता क्षेत्रमा एआई प्रयोगको सम्भावना र जिम्मेवारीबारे चर्चा गर्दै उनले भने, “अब एआई प्रयोग गरेर समाचार लेखन, तथ्य प्रमाणीकरण र गलत सूचना नियन्त्रण गर्न सजिलो भएको छ। तर सत्य, जवाफदेहिता र मानव मूल्यहरू कहिल्यै गुम्न हुँदैन।”

अनलाइन टिभी पत्रकार संघले एआई आचार संहिता जारी गरेर अनुकरणीय बाटो देखाएको उल्लेख गर्दै उनले अधिकारीले भने, “यस्तै अभ्यास सबै क्षेत्रका अत्यावश्यक भइसकेको छ।”

संघले जारी गरेको आचार संहितामा प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्धेश्यलाई समेत मध्यनजर गर्दै एआई आचार संहिता जारी गरिएको उल्लेख छ ।

एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परिक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचार संहिताको पहिलो बुँदामा लेखिएको छ ।

त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ ।

व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्नेगरी एआईको प्रयोग नगरिने प्रतिवद्धता अनलाइन टिभी पत्रकार संघले गरेको छ ।

अनलाइन टिभी पत्रकार संघमा आबद्ध सबै अनलाइन टिभी पत्रकारहरुले यो आचार संहिता अनिवार्य पालना गर्नु पर्ने र त्यसको अनुगमन संघले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचार संहितामा लेखिएको संघका वरिष्ठ उपाध्यक्ष संजीव रेग्मीले जानकारी दिए ।

आचार संहिता यस संघका सवै सदस्यहरुका लागि बाध्यकारी र अन्य एआई प्रयोगकर्ताहरुका लागि अनुकरणीय हुने संघका महासचिव पवन फुयालको भनाई छ ।

इन्टरनेटमा भिडियो पत्रकारिता गर्दै आइरहेका सञ्चारकर्मीहरुको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमै अनलाइन टिभी स्वनियमन निर्देशिका पनि जारी गरेको थियो ।

Health Tips Ad Road Block