Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एक वर्षमा स्वास्थ मन्त्री प्रदीप पौडेलको कार्यकाल यस्तो रह्याे (वक्तव्य पूर्णपाठसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा गरेका केही प्रमुख उपलब्धि तथा कार्यहरुको विवरण आज सार्वजनिक गरेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै सुधारको थालनी गरेको बताएका छन् ।

पौडेलले मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्ना उपलब्धी र योजना सार्वजनिक गरेका हुन् ।

यस्तो छ मन्त्री पौडेलले एक वर्षमा गरेको कार्यहरुको उपलब्धीको फेहरिस्तः

हामीले गत असार ३१ गते वर्तमान सरकारको एक वर्ष पूरा गरेका छौँ। आज, हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा रहेर गत एक वर्षमा गरेका प्रयासहरूबाट हासिल भएका उपलब्धिहरू र आगामी दिशानिर्देशबारे यहाँहरूमार्फत आम जनसमुदायलाई जानकारी गराउन उपस्थित भएका छौँ।

जब हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्‍यौँ, त्यस समयमा आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र वार्षिक बजेट पूर्णरूपमा तय भइसकेको थियो। जसका कारण हामीसँग नयाँ योजना तथा कार्यक्रमहरू समावेश गर्ने अवसर अत्यन्तै सीमित थियो। यद्यपि, हामीले विनियोजित बजेट तथा कार्यक्रमको निर्धारित सीमाभित्र रहेरै आम नागरिकलाई स्वास्थ्य सेवाको अधिकतम लाभ पुर्‍याउने संकल्पका साथै स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको दीर्घकालीन सुधारका लागि मार्गचित्र कोर्यौं। सोही अनुरूप, मन्त्रीको जिम्मेवारी सम्हालेको केही दिनमा गत २०८१ श्रावण २७ गते यसै गरी एक पत्रकार सम्मेलन आयोजना गरी हाम्रा प्राथमिकताका क्षेत्रहरू समेटिएको एक विस्तृत कार्ययोजना सार्वजनिक गरेका थियौँ।

बजेटको विद्यमान सीमाका बावजुद पनि हामीले अतिरिक्त स्रोत र साधनको व्यवस्थापन गर्न अथक प्रयास गर्‍यौँ। विभिन्न दातृ निकाय, विकास साझेदारहरू र सरकारी संयन्त्रहरूसँगको निरन्तर संवाद र सहकार्यबाट केही थप स्रोत जुटाउन सफल भयौँ। हाम्रो एक मात्र ध्येय ( सबैको लागि गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने र स्वास्थ्य क्षेत्रको सुधारका साथै नेपालको जनसंख्यालाई सन्तुलित, व्यवस्थित र लाभदायी बनाउन विशेष भूमिका खेल्ने। यही पवित्र उद्देश्यका साथ, हामीले केही नवीन र प्रभावकारी पहलहरू थालनी गर्‍यौँ जसले स्वास्थ्य तथा जनसङ्खयाको क्षेत्रमा एक नयाँ र सकारात्मक आयाम थप्ने छ भन्ने हाम्रो रहको विश्वास छ।

हामीले निर्धारण गरेका अधिकांश प्राथमिकताका क्षेत्रहरूमा एक वर्षको यो छोटो अवधिभित्रै उल्लेख्य सफलता हासिल गर्न सफल भएका छौँ। यीमध्ये कतिपय कार्यक्रमहरूले नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेका छन्। जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा दीर्घकालीन सोच राख्नु अपरिहार्य छ भन्ने कुरालाई मनन गर्दै ती मध्ये दीर्घकालीन महत्व राख्ने र राष्ट्रिय गौरवसँग जोडिएका विषयवस्तु तथा कार्यक्रमहरूलाई हामीले चालु आर्थिक वर्ष २०८२–०८३ को वार्षिक बजेट तथा कार्यक्रममा समेत समावेश गरी निरन्तरता दिएका छौँ।

हाम्रा यी प्रयासहरू एक्लै सम्भव थिएनन्। हामीले तय गरेका प्राथमिकता प्राप्त क्षेत्रहरूको सफल कार्यान्वयनमा आ–आफ्नो ठाउँबाट अमूल्य सहयोग, साथ र समर्थन प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकारका सबै निकाय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू, चिकित्सक एवं स्वास्थ्यकर्मीहरू, राष्ट्रसेवक कर्मचारीहरु, विकास साझेदारहरू, यस क्षेत्रका विज्ञहरु, नागरिक समाज, नेपाली डायस्पोरा र विशेषगरी आम नेपाली दाजुभाई, दिदीबहिनी र यहाँहरू सञ्चारकर्मी मित्रहरूलगायत सम्पूर्णमा म हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु।

अब, म एक वर्षको कार्यकालमा हामीले हासिल गरेका केही महत्वपूर्ण उपलब्धिहरूको सारसंक्षेप विवरण यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु।

१. संवैधानिक दायित्व तथा संघीयता कार्यान्वयन (समन्वय र सहकार्य)

–संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न विषयगत समिति र राष्ट्रिय जनस्वास्थ्य समितिलाई क्रियाशील बनाईएको छ।

–स्वास्थ्य तथा जनसंख्याको सवाल तीन तहका सरकारको समन्वयमा मात्र सम्बोधन हुने तथ्यलाई आत्मसात गर्दै निस्कृय प्राय रहेको विषयगत समितिलाई सक्रिय पारिएको छ।
–संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम विषयगत समितिको बैठकहरू बसी तहगत समस्या र आगामी कार्यदिशा तय गरिएको छ।

संविधान र स्वास्थ्य नीतिहरूले निर्दिष्ट गरेका तहगत अधिकार र जिम्मेवारीमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारबीच संवाद र छलफल मार्फत स्पष्टता ल्याउने प्रयास गरिएको छ।

समन्वय गरिएका मुख्य विषयहरू

–तीन तहका सरकारको स्वास्थ्य सम्बन्धी विषयमा रहेका अस्पष्टताहरु प्रष्ट पार्ने र जिम्मेवारी बाडफाट तथा सहकार्यको ढाँचा निर्धारण ।

–(५–१०–१५ शय्यायुक्त) आधारभूत अस्पताल संचालन ।

–डेंगु नियन्त्रण तथा नसर्ने रोगको स्क्रिनिंग ।

– एचपीभी खोप अभियान ।

–विपद व्यवस्थापन तथा आपतकालीन पूर्व तयारी एवं प्रतिकार्य ।

–कर्मचारी समायोजन तथा व्यवस्थापन ।

जनस्वास्थ्य समितिः

–जनस्वास्थ्य सेवा ऐन, २०७५ बमोजिम राष्ट्रिय जनस्वास्थ्य समितिलाई क्रियाशील बनाइएको छ भने आठवटा प्राविधिक उपसमितिहरू गठन गरी कार्य अगाडि बढाइएको छ।

–विषयगत प्राविधिक उपसमितिले आ(आफ्ना क्षेत्र सुधारका लागि निरन्तर संवाद, परामर्श र मन्त्रालय समक्ष महत्वपूर्ण सिफारिश गरेका छन्। प्राप्त सिफारिशहरु कार्यान्वयनमा ल्याईएको छ।

२. मुख्य नीति तथा कानूनी व्यवस्था

–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा पाँच वर्षभित्र १२००० जनशक्ति थप गर्ने प्रयास स्वरुप हाल २१०० जनशक्ति सहितको संगठन संरचना सुधार गर्न ओ एण्ड एम सर्वेक्षण प्रतिवेदन तयार गरी नेपाल सरकार मन्त्रिपरिषद् समक्ष पेश गर्ने गरी स्वीकृतीको अन्तिम चरणमा रहेको छ।

–स्वास्थ्य क्षेत्रलाई निर्देशित गर्ने १० वटा महत्वपूर्ण विधेयक तथा विद्यमान ऐनहरुलाई संशोधन गर्ने गरी विधेयकहरूलाई अघि बढाइएको छ।

–रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रतिनिधि सभामा टेबुल गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष स्वीकृतिका लागि पेश गरिएको छ।

–सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन (संशोधन) मन्त्रिपरिषदमा पेश गर्ने अन्तिम तयारीमा छन्।

–औषधि तथा स्वास्थ्य सामग्री विधेयक, प्रत्यायन विधेयक र स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन (संशोधन) जस्ताः विधेयकहरू कानून तथा अर्थ मन्त्रालयबाट राय प्राप्त गरी अन्तिम रूप दिने क्रममा छन्।

–स्वास्थ्य सेवा विधेयक, एकीकृत अस्पताल विकास समिति विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन (संशोधन) जस्ताः महत्वपूर्ण विधेयकहरूको मस्यौदा तयार भई छलफल तथा सार्वजनिक राय संकलनको चरणमा रहेका छन्।

स्वास्थ्य सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन दर्जनभन्दा बढी निर्देशिकार कार्यविधिर रणनीति स्वीकृत भएका छन्,

–नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी क्यान्सर तथा जलनको उपचार सेवा विस्तार, बिरामीलाई एक अस्पतालबाट अर्कोमा पठाउन राष्ट्रिय बिरामी प्रेषण निर्देशिका, बालबालिकाका लागि एच।पि।भी। खोप सञ्चालन निर्देशिका तथा विद्यालय स्वास्थ्य सेवा निर्देशिका र नसर्ने रोग नियन्त्रणका लागि मधुमेह, उच्च रक्तचाप परीक्षण अभियान जस्ता एक दर्जनभन्दा बढी महत्वपूर्ण कार्यविधि, निर्देशिका र रणनीतिहरू लागू भइसकेका छन्।

–हैजा निवारण योजना र रेविज रोग निवारण रणनीति जस्ताः दूरगामी महत्वका दस्तावेजहरु अर्थ मन्त्रालयको राय सहमतिका लागि पेश भएका छन्।

–विद्युतीय चिकित्सा अभिलेख प्रणाली, आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ स्वीकृत गरी लागू गरिएको छ।

३. स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षा

–स्वास्थ्य बीमा ऐन र नियमावली संशोधन गरी अनलाइन नवीकरण र सहज रिफरलको व्यवस्था गरिएको छ।

–स्वास्थ्य बीमाको बक्यौताका कारण देखिएको समस्या हल गर्न चालू आवमा हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाईएको छ।

–नागरिकको सास्ती हटाउन आफू बसेकै स्थानबाट समेत प्रथम बिन्दुको सेवा लिन सकिने व्यवस्था गरिएको छ।

–प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रथम सेवा विन्दु रहने व्यवस्था गरिएको छ।

–दीर्घ रोगको उपचारका लागि एक पटक रिफर लिएर गए पछि पुन फलोअपमा जाँदा फेरि रिफर पुर्जा बनाउनु नपर्ने व्यवस्था गरिएको छ।

–बीमाको म्याद सकिएर नवीकरण गर्नु परेमा घरैबाट अनलाईनमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।

–बीमा मार्फत प्राप्त हुने गरी ८ प्रकारका कडा रोग (क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर) का लागि २ लाख बराबरको उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

–बीमितले सेवा लिनका लागि बीमा भएको अवधी तीन महिना हुनुपर्ने विगतको व्यवस्था घटाई एक महिनामा झारिएको छ।

४. एकीकृत स्वास्थ्य प्रणालीः पूर्वाधार, जनशक्ति र चिकित्सा शिक्षा

–स्वास्थ्य पूर्वाधार निर्माण ।

–हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने ५५ वटा अस्पताल सञ्चालनको लागि तयारी अवस्थामा रहेका छन्।

–चालु आवमा निर्माणाधीन १३७ थप भई कुल २५० निर्माण सम्पन्न हुनेछन्।
आधारभूत अस्पताल निर्माणका लागि रु. ११ अर्ब बजेट व्यवस्था गरिएको छ।

–स्वास्थ्य संस्था नभएका २५७ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको छ। चालु आवमा थप २५० वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिनेछ।

–तीनै तहका सरकारको समन्वयमा सञ्चालन गर्ने गरी “आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१ जारी गरिएको छ।

–विगतमा निर्माण सम्पन्न भई सञ्चालनमा नआएका स्वास्थ्य संरचनाहरूस वीपी प्रतिष्ठानको ४०० शय्याको आमा(नवजात शिशु भवन, भक्तपुर छाती रोग अस्पताल सञ्चालन हुने अवस्थामा पुर्याइएको छ।

जनशक्ति व्यवस्थापन र परिचालन

–स्थानीय तहमा समायोजन भई विशेषज्ञ सेवा प्रवाह गर्न नपाएका (एमडी–एमएस) १६० जना विशेषज्ञ चिकित्सक प्रदेश मातहतका अस्पतालमा खटाइएको छ।

–छात्रवृत्तिका ७५१ जना विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार विभिन्न तहमा खटाइएको छ।

–लामो समयदेखि रिक्त विशेषज्ञ सहित १५६ पदमा लोक सेवा आयोगबाट स्थायी पदपूर्ति गरी पदस्थापन गरिएको छ।

चिकित्सा शिक्षा तथा क्षमता विकास

–पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस तहको अध्ययन अध्यापन सुरुवात गरिएको छ।

–भरतपुर र गेटा अस्पताललाई प्रतिष्ठान बनाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्थापन गरिएको छ।

–कार्डियोथोरासिक एण्ड भास्कुलर सेवा अस्पताल, अर्थोपेडिक्स एवं ट्रमा सेन्टर अस्पतालको न्यूनतम सेवा मापदण्ड स्वीकृत गरी लागू गरिएको छ।

–न्याम्समा पोष्ट ग्राजुयटतर्फ करिब ४०० सिट र नर्सिङ, एलाइड साइन्सतर्फ सिट थप गरिएको तथा ब्याचलर इन अडियोलोजी एण्ड स्पीच ल्याग्वेज प्याथोलोजी र र भक्तपुर स्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमार्फत रिनल ट्रान्सप्लान्ट फेलोसिप जस्ता नयाँ विशिष्टीकृत कार्यक्रम सञ्चालन गरिएको छ।

उपकरण व्यवस्थापन

–बायोमेडिकल औजार उपकरण व्यवस्थापन सूचना प्रणालीको कार्यान्वयनमा ल्याईएको छ।

–संघीय अस्पतालमा विशिष्टकृत सेवा विस्तारका लागि सिटी स्क्यान, एमआरआइ, पेटस्क्यान, क्याथ ल्याब जस्ता अत्याधुनिक उपकरणका लागि बजेट सुनिश्चित गरिएको छ।

उपकरण मर्मत

–राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा संघीय अस्पतालहरुमा ९०० भन्दा बढी बिग्रिएका उपकरण मर्मत गरी पुनस् सञ्चालनमा ल्याइएको छ।

५. डिजिटल हेल्थ

–बिरामीको परीक्षण नदोहोरियोस् भन्नका लागि एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली लागू गर्ने तयारीस्वरूप निर्देशिका जारी गरिएको छ।

–विद्युतीय स्वास्थ्य अभिलेखनका लागि सेन्ट्रल डाटा रेपोसिटोरी सिष्टम–इएचआर लागू गरिएको छ।

–देशभरका ११,२३७ स्वास्थ्य संस्था र करिब ४०,००० स्वास्थ्यकर्मीलाई राष्ट्रिय स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मी पञ्जीकरण प्रणालीमा आबद्ध गरिएको छ।

–चालू आव।मा २२ संघीय अस्पतालमा एक्स रे फिल्म लगायतका प्रतिवेदन विस्थापन गरी डिजिटल रिपोर्ट उपलब्ध गराउने व्यवस्था मिलाईएको छ।

–स्वास्थ्य सेवा विभाग अन्तर्गतको औषधि औजार र उपकरणसम्बन्धी अभिलेख व्यवस्था प्रणालीलाई एकीकृत तथ्यांक प्राप्त गरी आर्थिक भार समेत कम गर्न इएलएमआइएस बाट सार्वजानिक सम्पत्ति व्यवस्थापन सूचना प्रणाली मा स्थानान्तरण गरिएको छ।

–पेटेन्ट पोर्टल र हेल्थ आइडी लागू गर्ने गरी प्रणाली विकास सम्बन्धीको तयारी अन्तिम चरणमा रहेको छ।

६. निरोगी नेपाल,

‘निरोगी नेपाल’ रोकथाम र प्रवर्द्धनात्मक कार्यक्रम

जनस्वास्थ्य अभियान तथा कार्यक्रम

–नसर्ने रोगः फागुन महिनालाई “नसर्ने रोग परीक्षण महिना” घोषणा, आगामी वर्षदेखि राष्ट्रिय कार्यक्रमका रुपमा संचालन गर्न व्यवस्था मिलाइएको छ। सबै स्थानीय तहमा स्क्रिनिंग तथा सचेतना अभियानका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको छ।

–डेंगु नियन्त्रणः देशमा हरेक वर्ष धेरै जनधनको क्षति गराउने महामारी डेंगु नियन्त्रणका लागि साउन देखि असोज महिना सम्मै ‘खोज र नष्ट गर’ अभियानलाई केन्द्रमा राखेर श्रावण महिनालाई “डेंगु सचेतना महिना” घोषणा गरी राष्ट्रिय अभियान सुरु गरिएको छ।

–एचपीभी खोपः १०–१४ वर्षका १४ लाख ६१ हजार ६ सय ५४ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध निःशुल्क खोप प्रदान गरिएको छ। एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको छ। उक्त खोप अभियानमा लक्ष्यको ८७ प्रतिशतभन्दा बढिलाई यो खोप प्रदान गरिएको छ।

–जनस्वास्थ्यकर्मी परिचालनः ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ कार्यक्रमका लागि चालू आवमा सबै स्थानीय तहमा जनस्वास्थ्यकर्मी परिचालन गर्न बजेटको व्यवस्था गरिएको छ।

–नागरिक आरोग्य कार्यक्रमः आयुर्वेद, योग, ध्यान र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने कार्यक्रमलाई चालू आवमा सबै स्थानीय तहमा विस्तार गरिएको छ।

–विद्यालय स्वास्थ्यः विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ्ग कार्यक्रम अन्तर्गत विद्यालय नर्स कार्यक्रम, ुविद्यालय स्वास्थ्य दूत र स्वास्थ्य प्रवर्द्बनात्मक विद्यालयको अवधारणाको सुरुवात गरिएको छ।

–मानसिक स्वास्थ्यः स्वास्थ्य सेवा विभागमा छुट्टै युनिट स्थापना तथा चालू आवमा सबै स्थानीय तहसम्म मानसिक स्वास्थ्य मनोपरामर्श सेवा विस्तार गर्न स्रोत व्यवस्थापन गरी कार्य अघि बढाइएको छ।

–महामारी तथा विपद् व्यवस्थापनः चालू आवदेखि सबै स्थानीय तहमा महामारी तथा स्वास्थ्य आपतकालको पूर्व तयारी एवं प्रतिकार्यका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण

–बट्टामा शत प्रतिशत चेतावनीमूलक चित्र छाप्ने निर्देशिका स्वीकृत गरिएको छ।

–सुर्ती नियन्त्रणमा देशले पुर्‍याएको योगदानको कदरस्वरूप विश्व स्वास्थ्य संगठनबाट विशेष अवार्ड प्राप्त भएको छ ।

–सुर्ती सेवनको लत त्याग गर्न चाहनेहरूका लागि राष्ट्रिय स्तरमा ‘सुर्ती छाड्ने हेल्प लाइन “११३२” स्थापना गरिएको छ।

आयुर्वेद र वैकल्पिक चिकित्सा

–बुढानिलकण्ठस्थित ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ मा सेवा सञ्चालन गरिएको छ।

–सिंहदरबार वैद्यखानाको पुनर्संरचना र उत्पादन क्षमता विस्तार गर्न ५ वर्षे रणनीतिक योजना सार्वजनिक गरिएको छ।

–सिंहदरबार वैद्यखानामा विगतमा १३ प्रकारका औषधि उत्पादन भएकोमा हाल ५४ प्रकारका आयुर्वेद औषधीहरुको उत्पादन भैरहेको छ।

–आयुर्वेदिक औषधिहरूको गुणस्तर बढाउन र निर्यात प्रवर्द्धन गर्न “औषधि कुशल उत्पादन अभ्यास संहिताको (दोस्रो संशोधन), २०८२” जारी गरिएको छ।

७. गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र विस्तार

सेवा प्रवाह सुधार तथा पारदर्शिता
–संघीय अस्पतालमा दुई सिफ्ट ओपिडी तथा विस्तारित सेवा कार्यक्रम लागू गरिएको छ।
–अस्पतालहरुमा टोकन प्रणाली, अनलाइन टिकट र डिजिटल भुक्तानी जस्ता प्रविधिहरूको विस्तार गरिएको छ।
–अस्पतालहरूलाई सेवा शुल्क र खाली शय्याको विवरण वेबसाइट तथा सूचना पाटीमा अनिवार्य सार्वजनिक गर्न निर्देशन गरिएको छ।
–फर्मासिस्ट र फार्मेसी सहायकका लागि पहिचान स्पष्ट गर्न ड्रेस कोडको पालना अनिवार्य गरिएको छ।

विशिष्टीकृत सेवाहरूको प्रादेशिक विस्तार

–सातै प्रदेशका सरकारी अस्पतालहरू मार्फत सेवा प्रदान गर्ने गरि क्यान्सर, मुटुरोग, जलन, मिर्गौला प्रत्यारोपणको सेवा विस्तार गरिएको छ भने सोको निरन्तरका लागि बजेटको व्यवस्थापन गरिएको छ।

निःशुल्क उपचार तथा औषधि

–कान्ती बाल, भक्तपुर क्यान्सर, पाटन अस्पताल र बी पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अस्पतालहरुमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार पूर्णतः निःशुल्क गरिएको छ।

–संघीय अस्पतालहरुमा पक्षघात (स्ट्रोक), हिमोफिलियाको औषधि निःशुल्क उपलब्ध गराइएको छ।

–सरकारी अस्पतालहरुमा सिकलसेल एनेमिया तथा थालासेमियाका बिरामीलाई आवश्यक औषधि तथा भ्याक्सिन निःशुल्क गरिएको छ।

–स्वास्थ्य सूचना र गुनासो सम्बोधनः हेल्लो स्वास्थ्य( “१११५”

–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस मातहतका स्वास्थ्य संस्थाहरूबाट प्रदान हुने सेवाबारे वा कुनै गुनासो भएमा त्यसलाई तत्काल सम्बोधन गर्न हटलाइन सेवा “हेल्लो स्वास्थ्य १११५” को व्यवस्था गरिएको छ।

–नागरिकले सरकारबाट पाउने निःशुल्क स्वास्थ्य सेवाबारे सूचनाको अभाव भई कुनै पनि कठिनाइ भोग्नु नपरोस् भन्ने उद्देश्यले “निःशुल्क स्वास्थ्य सेवा” का सम्पूर्ण जानकारी स्वास्थ्य मन्त्रालयको वेबसाइटमार्फत हेर्ने मिल्ने व्यवस्था गरिएको छ। उक्त वेबसाइटमा निःशुल्क सेवाका प्रकार, सेवा प्राप्त हुने स्थान र आवश्यक पर्ने कागजातहरू जस्ता विवरणका बारेका जानकारी उपलब्ध छ।

नयाँ तथा विशिष्टीकृत सेवाहरूको सुरुवात

–वीर अस्पतालः जलन वार्ड र सर्जिकल आईसीयू सेवा विस्तार गरिएको छ।
–भक्तपुर क्यान्सर अस्पतालः सिटि स्क्यान, रेडियोथेरापी सेवा र बाल क्यान्सर उपचारका लागि अन्कोलोजी वार्ड स्थापना
–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः नशा परीक्षणको अत्याधुनिक सेवा विस्तार गरिएको छ।
–बीपी प्रतिष्ठान, धरानः बर्न वार्ड, अन्कोलोजी वार्ड र मिल्क बैंक सेवा विस्तार गरिएको छ।
–परोपकार प्रसूति अस्पतालः निःसन्तान सेवा, सिमुलेसन ल्याब र न्यू बर्न स्क्रिनिङ सेवा विस्तार गरिएको छ ।

–नारायणी अस्पतालः म्यामोग्राम सेवा र निःसन्तान सेवा सुरुवात
–भेरी अस्पतालः सिकलसेल उपचार र स्क्रिनिङ युनिट, जलन वार्ड सेवा विस्तार गरिएको छ।

–भरतपुर अस्पतालः क्याथ ल्याब सेवा विस्तार गरिएको छ।

–बि पि मेमोरियल क्यान्सर अस्पतालः बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि व्यवस्था मिलाईएको छ।

–कोशी अस्पतालः निःसन्तान उपचार र स्पाइनल सर्जरी, थालसेमिया विभागको स्थापना तथा सेवा विस्तार गरिएको छ।

–जि पि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहुँ ( हेमोडाईलाइसिस सेवा सुरुवात

–डडेल्धुरा अस्पतालः प्रसूति सेवा विस्तार र हेमोडाईलाइसिस सेवा विस्तार
–राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालमै सबै किसिमका परीक्षणहरू सम्भव गराई विदेशमा नमुना पठाउनुपर्ने बाध्यता अन्त्य गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारका लागि नयाँ प्रविधि र उपकरण थप गरिएको छ। नेपालमै पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सेवा सुरु गरिएको छ।

–साथै, नेपालमा सम्भव नहुने क्यान्सर सम्बन्धी जटिल ल्याब परीक्षणहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत गराउने प्रबन्ध मिलाइएको छ।
–शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणः
–वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि स्वास्थ्य सम्बन्धी परामर्श सेवा तथा रोजगारीबाट फर्किए पश्चात् निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरुवात गरिएको छ।
–अङ्ग दान तथा प्राप्तिका लागि अनलाइन प्रणाली सुरु गरिएको साथै मस्तिष्क मृत्यु पश्चात् अंग दान गर्ने परिवारलाई प्रोत्साहन रकम दोब्बर गरी रु. २ लाख पुर्याइएको छ।

८. स्वास्थ्यमा साझेदारी तथा समन्वय

–अन्तर्राष्ट्रिय सहकार्यः भारतसँग स्वास्थ्य क्षेत्र र आयुर्वेद क्षेत्रसँग सहकार्य गर्ने समझदारीपत्र नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत गरिएको छ।

–प्रवासी नेपालीः स्वास्थ्य क्षेत्रमा प्रवासी नेपालीको ज्ञान र लगानी भित्र्याउन नेपाल हेल्थ कन्क्लेभमार्फत १०बुँदे प्रतिबद्धता जारी गरिएको छ।

–अन्य साझेदारीः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा निःशुल्क यात्राको लागि यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरी लागू गरिएको छ।

–शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरुको वार्षिक स्वास्थ्य परीक्षण निस्शुल्क गर्ने व्यवस्था मिलाइएको छ।

–स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुह, समुदाय र दुर्गम क्षेत्रमा सेवा पुर्‍याउन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा प्रतिष्ठान, मेडिकल कलेज र विशिष्टिकृत अस्पताल लगायतसंग साझेदारी र समन्वय गरिएको छ।

–आँखा स्वास्थ्य सेवाको लागि नेपाल आँखा कार्यक्रम (तिलगंगा आँखा अस्पताल) सँग तहाँ उत्पादिन लेन्सको दश प्रतिशत नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराउने लगायतका सम्झौता गरिएको छ।

–नेपालमा आँखा स्वास्थ्य सेवामा आम नागरिकको सहज पहूँच पुर्याउन नेपाल नेत्रज्योति सङ्घसँग द्बिपक्षीय सहकार्यका लागि सम्झौता भएको छ।

त्रिभुवन विश्वविद्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच त्रिविका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले त्रि वि कल्याणकारी कोषको प्रावधान बमोजिम संघीय अस्पतालहरुबाट स्वास्थ्य उपचार सुविधा पाउने गरी १० वर्षका लागि समझदारी पत्र नवीकरण गरिएको छ।

९. जनसङ्ख्या

–मानव पूँजीमा आधारित जनसांख्यिक लाभको उपयोग बढाउने,
–जनसङ्ख्या र विकासबीच तादात्म्यता कायम गरी दिगो विकास हासिल गर्ने,
–समावेशिता, सामाजिक न्याय र प्रजनन अधिकारमा आधारित समतामूलक समाज निर्माण गर्ने,
–ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्ने र
–संस्थागत क्षमता र तथ्याङ्क प्रणाली सुदृढ गरी जनसङ्ख्या व्यवस्थापनलाई प्रभावकारी बनाउने, गरी राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत भएको छ।

अन्त्यमा,
स्वास्थ्य क्षेत्रका गम्भिर समस्या हल गर्दै लैजान तथा यसको दीर्घकालीन सुधार तथा जनसङ्ख्या जस्तो महत्वपूर्ण तर कम चासो दिईएको क्षेत्रको आयामिक सुधारका लागि एक वर्षमा यो स्तरको उपलब्धि हासिल गर्न यहाँहरु सबैले पुर्याएको सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दछु। स्वास्थ्य क्षेत्रलाई एकीकृत तथा प्रभावकारी बनाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा आम नागरिकको सहज पहुँचमा पुर्याउने यस महान अभियानमा यहाँहरुको सहयोग अझ भिजिबल,ट्यान्जिबल हुनेछ भन्ने विश्वास छ। चालु आर्थिक वर्षको अन्त सम्ममा हामीले थालेका सुधारका अभियानले पूर्णता पाई नेपालको स्वास्थ्य क्षेत्र नयाँ उचाईमा पुग्ने विश्वास दिलाउन चाहन्छु।

Health Tips Ad Road Block