काठमाडौं । सार्वजनिक यातायातलाई प्रविधियुक्त र स्तरीय बनाउन सरकारी जोड रहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द दाहालले सार्वजनिक यातायात क्षेत्रलाई प्रविधियुक्त र थप स्तरीय बनाउने कुरामा जोड दिएका हुन् । महानगर यातायात प्रालिले शुरु गरेको विद्युतीय बस सेवाको शुभारम्भ कार्यक्रममा उनले सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको योगदान प्रशंसनीय रहेको भनाइ राखे । विद्युतीय सवारी साधन, विद्युतीय भुक्तानी जस्ता नविन विषयहरुको उपयोगबाट सेवालाई स्तरीय बनाउन सकिने उनले बताए । ‘विद्युतीय भुक्तानीको विषय सामान्य भई सकेको छ । अचेल सामान्य व्यवसायमा समेत यसको उपयोग भई रहेको छ’ मन्त्री दाहालले भने, ‘खै किन किन सार्वजनिक यातायातमा यसको प्रयोगमा ढिलाई भई रहेको छ तर अब ढिला नगरौं, सरकारको तर्फबाट गर्नु पर्ने कामका लागि हामी तयार छौं ।’
सडक तथा पूर्वाधार निर्माणलाई विश्वस्तरीय बनाउने काम भई रहेको भन्दै मन्त्री दाहालले दिगो, गुणस्तरीय, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरका संरचना बनाउन सरकारले ध्यान दिएको बताए ।
कार्यक्रममा बागमती प्रदेशका श्रम तथा भौतिक पूर्वाधार मन्त्री प्रेमभक्त महर्जनले संवैधानिक व्यवस्थाअनुसार यातायात क्षेत्रको नियमन र व्यवस्थापनका लागि प्रदेश तहबाट नै काम भइरहेको बताए । यसैगरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नीतिगत सुधार र व्यवस्थापनका लागि सरकारले काम गरि रहेको भन्दै सेवा प्रवाहलाई स्तरीय बनाउन व्यवसायीहरुबाट भई रहेको प्रयास सह्रानीय रहेको बताए । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतले सार्वजनिक यातायात पहुँचयोग्य र स्तरीय बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा महानागर यातायात प्रालिका कार्यकारी अध्यक्ष सन्तोष खतिवडाले विश्वब्यापी रुपमा आइरहेको विद्युतीय गाडीको लहर र नेपालको सन्दर्भमा त्यसको ब्यवहारिक पक्षको अध्ययन पश्चात विद्युतीय बसहरु भित्र्याएको जानकारी दिए । अहिले सेवा सुभारम्भ गरिएका विद्युतीय बसहरु नेपालको सडक पूर्वाधार सुहाउँदो भएको र निकट भविष्यमै यस्ता विद्युतीय वसहरुको संख्या बढाउने योजनामा रहेको अध्यक्ष खतिवडाको भनाइ थियो । उनले विद्युतीय बसहरु वातावरण मैत्री र यात्रु मैत्री मात्रै नभएर ब्यवसायीका लागि समेत लाभदायी हुने विश्वास पनि ब्यक्त गरे ।
कार्यक्रममा शशीला मोटर्सका महाप्रबन्धक अशोकराज सुवेदीले महानगर यातायातलाई आज हस्तान्तरण गरिएको विद्युतीय सिटी बसहरु नेपालको पूर्वाधारको अध्ययन पश्चात मात्रै ल्याइएको जानकारी दिए । बस उत्पादक चिनियाँ कम्पनी चेरी एण्ड वण्डाको रिसर्च एण्ड डेभलपमेन्ट टिम नेपालमै आएर यहाँको बाटोघाटो अध्ययन गरेपछि नेपालकै लागि बनाइएको बस भएको हुनाले ब्यवसायीको हितमा र यात्रु मैत्री रहेको उनको दाबी थियो ।

महानगरको एकसाथ १२ ओटा ठूला यात्रुबाहक विद्युतीय बस सेवा सञ्चालनमा
महानगर यातायात प्रालिले बुधबारदेखि विद्युतीय बस सेवा सुरु गरेको छ । प्रालिले काठमाडौंको चक्रपथमा गुड्ने गरि चेरी एण्ड वण्डा ब्राण्डको १२ वटा विद्युतीय सिटी बस सेवा सञ्चालनमा ल्याएको हो । चिनियाँ बस उत्पादक कम्पनी चेरी एण्ड वण्डाको नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले काठमाडौंमा एक कार्यक्रम गरी महानगर यातायातलाई बसको चावी हस्तान्तरण गरेको हो ।
संचालनमा आएको उक्त विद्युतीय वस ८ दशमलव ६५ मिटर लम्बाइका छन् । जुन बसमा ३२ जना यात्रुका लागि आरामदायी सिटका साथै ३५ जना सम्म यात्रु उभिएर जम्मा ६७ जना यात्रु क्षमता रहेको छ भने चालकका लागि छुट्टै कुनै अवरोध नहुने गरि चालक क्याविनको ब्यवस्था गरिएको छ । बसमा अत्याधुनिक फोल्डिङ एडजस्टेवल आरामदायी सिट प्रदान गरिएको छ । चालक क्याविनमा दिइएको स्क्रिनमा बसमा भएका सम्पूर्ण गतिविधिहरु सात वटा सिसि टिभी क्यामरामार्फत नियाल्न सकिने भएकोले सुरक्षित रहेको छ ।
बसमा डवल एयर सप्सेन्सन रहेको हुनाले यात्रुहरुलाई आरामदायी यात्रा सुनिश्चित हुनेछ । जसले सडकमा भएका खाल्डा खुल्डीहरुमा पनि सजिलै यात्रा गर्न सकिनेछ भने यात्रुहरुलाई लामो दुरीको यात्रामा पनि कुनै थकान नहुने कम्पनीको दाबी छ ।
दश वर्षदेखि काठमाडौंमा संचालित महानगर यातायातले यसअघि ८९ वटा बसमार्फत सेवा दिइरहेको थियो । विद्युतीय सेवा विस्तारसँगै महानगर यातायातको बस संख्या १ सय १ पुगेको छ । महानगर यातायातले यस अघि नै निकट भविश्यमै आफूलाई पब्लिक लिमिटेड कम्पनी बनाउने घोषणा गरिसकेको छ ।























