कपिलवस्तु । कपिलवस्तुको तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास सफल हुन सकेको छैन । फ्रान्सको राजधानी पेरिसमा भएको ४७ औँ बैठकमा गौतम बुद्धले २९ वर्ष युवा अवस्था बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने नेपालको प्रयास सफल हुन नसकेको हो । युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्याङ्कनमा पहिले नै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए । सोही प्रतिवेदनमा २१ सदस्यीय राष्ट्रमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास असफल भएको हो ।
यसअघि ४७ औँ युनेस्को बैठकमा तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा गरिएको थियो ।
यस सम्बन्धमा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठ, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको टोलीले फ्रान्समा पहलसमेत गरेको थियो ।






















