काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ आज असार २९ गते आइतबारदेखि निष्काशन भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूर पश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १) का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि बाँडफाँड गरिनेछ। यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ११ गते हुनेछ भने ढिलोमा साउन २६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।






















