काठमाडौं । फरक–फरक बैंकमा ग्राहक पहिचान(केवाइसी) भर्नुपर्ने अहिलेको झन्झटबाट सेवाग्राहीहरु मुक्त हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिमा यो किसिमको व्यवस्था गर्न लागिएको हो ।
मौद्रिक नीतिको बुँदा नम्बर १२८ मा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था एवम् अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ । ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्नसक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिनेछ ।’
हालसम्म जति वटा बैंकमा खाता खोल्यो छुट्टाछुट्टै केवाइसी भनुपर्ने बैंक तथा वित्तीय संस्थाको प्रावधानले सेवाग्राही हैरान भइरहेको सर्वत्र गुनासो बढिरहेपछि केन्द्रीय बैंकले सुधारको पहल शुरु गरेको हो ।
नयाँ प्रणाली अन्तर्गत केवाइसी विवरण उपलब्ध गराएका ग्राहकले पहिचान नम्बर प्राप्त गर्ने भएका छन् र कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचानका लागि ग्राहकको व्यक्तिगत विवरण आवश्यक परेमा सोही पहिचान नम्बरको प्रयोग गरेर केवाइसी प्रणालीबाट प्राप्त गर्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।






















