काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक गरेको हो । गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै समग्र आर्थिक स्थायित्व कायम राख्ने, मुद्रास्फीति नियन्त्रण गर्ने र आर्थिक वृद्धिलाई सघाउने उद्देश्यसहित नीति ल्याइएको बताएका छन् ।
सार्वजनिक मौद्रिक नीतिअनुसार मौद्रिक नीतिको लक्ष्य सरकारको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोगी हुने खालको छ । त्यस्तै मुद्रास्फीति ५ प्रतिशतमा सीमित गर्ने र विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी कायम राख्ने, मुद्राप्रदाय १३ प्रतिशत र निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । मौद्रिक नीति अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात यथावत राखिएको छ भने ब्याजदर करिडोरमा केही परिमार्जन गरिएको छ ।






















