काठमाडौं । नागरिकका आँगनमै रहेकोले विपदजन्य घटनामा सबैभन्दा पहिलो सम्पर्क हुने सरकारको निकाय स्थानीय तह भएको बताउँदै काठमाडौं महानगरपालिकाले सम्भावित प्रकोप व्यवस्थापनका लागि काठमाडौंको रानीपोखरीमा मनसुनजन्य विपद प्रतिकार्य कृतिम अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वाटर र महानगर प्रहरी बलको संयुक्त आयोजनामा रानीपोखरीमा मनसुनजन्य विपद प्रतिकार्य संयुक्त कृतिम अभ्यास गरिएको हो ।
कृतिम अभ्यासको अवलोकन गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले यो दायित्व पूरा गराउन नीति, योजना तथा कार्यक्रम र बजेटको व्यवस्था गरेर काम गरिरहेको बताएकी छन् । ‘तहगत सरकारका बीचमा समन्वय र सहकार्य संविधानको मर्म हो । यो कृतिम अभ्यास यसको उदाहरण हो ।’ उनले भनिन्, ‘गएको वर्षको पानीजन्य विपदले पाठ सिकाएको छ । त्यस समयमा गरिएको सिकाइलाई आधार मानेर दक्षता बढाउनु पर्छ । सम्भावित प्रकोप व्यवस्थापन गर्न तयारी अवस्थामा रहनुपर्छ ।’
यता सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठले साझेदारका बीचमा भएको स्रोत, सिप र क्षमतालाई एकीकृत गरेर विपद्को सामनालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने अभ्यास कार्यक्रमले सन्देश दिएको धारणा राखे । ‘पूर्वतयारी एक पटक गरेर सकिने काम होइन । यसलाई नियमित गरिरहनु पर्छ ।’ उनको भनाइ थियो ।
अभ्यासमा पानीमा डुवेको व्यक्तिलाई डोरीको मद्दतले उद्धार गर्ने, ढुङ्गा तथा अन्य स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गर्ने, उद्धारकर्ता पौडेर गएर बचाउने, खहरेमा परेको व्यक्तिलाई बचाउने, ढुङ्गा पल्टियो भने त्यसलाई व्यवस्थापन गर्ने, पानीबाट उद्धार गरिएको व्यक्तिलाई प्राथमिक स्वास्थ्योपचार गर्ने, आवश्यकताका आधारमा अस्पताल लैजाने अभ्यास गरिएको थियो । यसका लागि महानगर प्रहरी बल, नेपाल प्रहरी र शसस्त्र प्रहरीका एक एक वटा ढुङ्गाको प्रयोग गरिएका थिए ।

गएको वर्ष जल उत्पन्न प्रकोपले काठमाडौँमा जनधनको क्षति गरेको थियो । यस वर्ष औसतभन्दा धेरै बर्षा हुने अनुमान गरिएको छ । यसबाट आउन सक्ने बाढी र डुवानजस्ता विपदबाट जनधनको क्षति घटाउन अभ्यास गरिएको हो । महानगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक, १६ जना नगर प्रहरी हवल्दार र ३ जना नगर प्रहरी जवान गरी २० जनालाई जलजन्य विपद व्यवस्थापन प्रतिकार्यको तालिम दिएको छ ।





















