काठमाडौं । किसानले चैते धानको उचित मुल्य नपाएको गुनासो पछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबीच वाणिज्य मन्त्रालयमा छलफल भएको छ । छलफलमा दुवै मन्त्रालयका सचिव , खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता थियो । बैवैठकमा चैते धानको हालको अवस्था ,किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट हाल चामल आयातको अवस्था , खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान,चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमता लगायतका विषयमा छलफल भएको छ ।
दुई मन्त्रालयबीच हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी सँग प्रयाप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल ,चिउरा र भुजिया निर्यातका लागि सम्बन्धीत निकायसँग समन्वय गर्ने, खाद्यमार्फत धान खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग बजेट लगायतका विषयमा पहल गर्ने निर्णय भएको छ ।
बैठकमा कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर हुन्छ किसानले चैते धानको उचित मूल्य पाउनका लागि सम्बन्धीत निकायको पहल आवश्यक रहेकोमा जोड दिए । उधोग मन्त्री भण्डारीले कृषि , उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग समेत बसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताए ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा, वाणिज्य तथा आपूर्ति सचिव डा.रामप्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्थाबारे जानकारी गराएका थिए ।
सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २८ सय ६९ पैसा तोके पनि झापा लगायत पूर्व र पश्चिमका जिल्लाहरुमा किसानले १५ देखि १६ सय रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको बताएका छन् । हाल डेढ लाख मेट्रिक टनको हाराहारीमा किसानसँग बिक्रीका लागि रहेको अनुमान छ । पछिल्लो समय मात्र भारतबाट ३१अर्व बराबरको चामल आयात भएको छ ।






















