काठमाडौं । नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षीया ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । उनीहरुको प्रत्यारोपण जेठ ८ गते सम्पन्न भएको हो ।
कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपणमध्ये एक पर्दछ भने निकै ठूलो मल्टिडिसिप्लिनरी टोलीको आवश्यकता पर्दछ । प्रत्यारोपण गर्दा कलेजो दाता (डोनर) को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता (रिसिभर) को १३ घण्टा लागेको अस्पतालले जनाएको छ । भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसँग सहकार्य गरी नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

“हामी उपचारका लागि दुईपटक भारत गएका थियौं, तर त्यहाँ डाक्टरको परामर्श चित्त बुझेन । बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्नैपर्छ भनेपछि हामी झन् आतियौं र नेपाल नै फर्कियौं ,” कलेजो दाता आयुष कार्कीले भने ।
“नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि हामी नेपाल मेडिसिटी अस्पतालमा परामर्शको लागि आयौं र कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझेपछि यही प्रत्यारोपण गर्ने निर्णय गरेका हौं । नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउनु पर्याे । यदि पहिले नै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुवै खर्च हुने थिएन,” उनले भने ।
“नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण पहिलो पटक भएको छ । हामीसँग मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो,” अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोले बताए ।
नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ । एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार सन् २०२३ देखि २०२४ मामात्र७० जनाभन्दा बढि नेपालीहरुले भारतमा गएर कलेजो प्रत्यारोपण गराएका छन् । “हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्धेश्यले नै यो अस्पताल सञ्चालनमा ल्याएका हौं । त्यसैले यहाँका जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं ।”
ग्यास्ट्रो इन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठका अनुसार बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ । “ईश्वर बहादुर कार्कीको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो । उनको कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छाडिसकेको थियो । यस क्रममा उनी नेपालका अन्य अस्पताल र भारतमा पनि दुई पटक प्रत्यारोपणका लागि गएका थिए । उनको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुवै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ,” डा. श्रेष्ठले भने ।
कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ ।
“हामीले बिरामीको शल्यक्रियागर्नु अघि नै यसमाजोखिम रहेको र पहिले कलेजो प्रत्यारोपण गर्ने र कलेजोको कारण मिर्गौलाबिग्रेको हो वाहोइनजाँच गरेर मात्रमिर्गौलाप्रत्यारोपण गर्ने भनेर सम्झाएका थियौं । बिरामीले धेरै अस्पतालमा धाइसकेको तथा लामो समय बितिसकेका कारण चुनौतीलाई आत्मसाथ गरी यो प्रत्यारोपण गरेका हौं,” कलेजो प्रत्यारोपण सर्जन डा.रामबाबु साहले बताए ।
नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शुल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ । यहाँ कलेजो प्रत्यारोपणसँगै विभिन्न अंगको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भईसकेको छ भने ५०० जनाभन्दा बढिको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ । नेपाल मेडिसिटी अस्पतालले सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवामा सधैं समर्पित रहेको जनाएको छ ।





















