काठमाडौं । संघीय राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको त्रिभुवन राजपथको नागढुंगा–पिपलामोड खण्ड १५ दिनका लागि आंशिक बन्द हुने भएको छ । शनिबारदेखि २५ गतेसम्म बिहान साढे दश बजेबाट अपराह्न तीन बजेसम्म आंशिक बन्द हुने नागढुंगा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।
पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाले आयोजनाको सो खण्डको कालोपत्रे गर्नुपर्ने भएकाले दैनिक साढे चार घण्टा बन्द गरिएको जानकारी दिएका छन् । सो खण्डको निर्माण मनसुन सुरु हुनुअघि नै सम्पन्न होस् भनेर काम गरिरहिएको छ । यसअघि एक लेन (वन–वे) मा सवारीसाधन सञ्चालन गरेर काम गर्दा लामो दूरीसम्म जाम हुने र काम पनि लक्ष्य अनुसार नहुने भएकाले अन्त्यमा बाटै बन्द गर्नुपरेको प्रमुख ओझाले स्पष्ट पारेका छन् । उनका अनुसार आयोजनाको पूर्वी खण्डको कुल १२ किलोमिटरमध्ये नौ किलोमिटरको काम सम्पन्न भइसकेको छ । तीन किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।
यस सडकखण्डको विकल्पमा सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग र सामाखुसी–टोखा–गुर्जेभन्ज्याङ–छहरे–त्रिशूली (वेत्रावती)–गल्छी सडकमार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ ।
हाल नागढुंगा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना अन्तर्गत कुल ९५ किलोमिटर सडक विस्तार भइरहेको छ ।






















