Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नौतले दरबार उद्घाटन, सर्वसाधारणका लागि खुला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ । हनुमानढोकामा मंगलबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नौतले दरबारको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले सम्पदा संरक्षण र पुस्तान्तरणको महत्वलाई जोड दिए । उनले भने, “नौतले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ। भूकम्पले ढलाएका हाम्रा सम्पदाहरु उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

मन्त्री पाण्डेले भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा देखिएको प्राविधिक क्षमता र परम्परागत सीपको प्रशंसा गर्दै भने, “लिच्छवीकालका जस्ता कलाकारहरू आज पनि हुनुहुन्छ भन्ने प्रमाण काष्ठमण्डप पुनःनिर्माणमा देखिएको छ। नौतले दरबार निर्माणमा देखिएको छ। हाम्रो सभ्यता र पुर्खाहरूको कला–कौशलका प्रतिनिधि यी सम्पदाहरू हुन् ।”

उनले अगाडि भने, “हाम्रो सम्पदा र कला संरक्षण गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ। सरकारले यसबारेमा निरन्तर जनचेतना अभिवृद्धि गर्नुपर्छ ।”

डिजिटल युगमा प्रवेश गरिसकेको वर्तमान समयमा सम्पदाको डिजिटल अभिलेखनको खाँचो औंल्याउँदै मन्त्री पाण्डेले पुरातत्व विभाग र अभिलेखालयलाई त्यसतर्फ सक्रिय हुन निर्देशन दिए । “डिजिटल दुनियाँमा हाम्रा सम्पदा र कलालाई प्रविष्ट गराउन जरुरी छ,” उनले बताए ।

नौतले दरबार उद्घाटन समारोहमा मन्त्री पाण्डेले नेपालको पुरातात्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिए। “हाम्रो सम्पदाको चर्चा र प्रचार आवश्यक छ, र नयाँ पुस्तालाई पनि यसबारे जानकारी दिनु आवश्यक छ,” उनले भने।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक, चिनियाँ प्राविधिक टोलीका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, तथा सम्पदा क्षेत्रमा सक्रिय विज्ञहरू सहभागी थिए। उनीहरूले नौतले दरबारको पुनःनिर्माणमा प्रयोग गरिएको परम्परागत काष्ठकला, ढुंगा निर्माण शैली र हस्तकलाको पनि अवलोकन गरेका थिए ।

प्राचीन शिल्प, परम्परा र धैर्यको प्रतीक मानिने नौतले दरबार आज सर्वसाधारणको लागि खुला भएपछि हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक महत्त्वमा पुनः ऊर्जा थपिएको छ ।

मन्त्री पाण्डेले भने, “हाम्रो सम्पदा केवल ढुंगा, काठ र इँटाको संरचना होइन। ती हाम्रो पहिचानका कडी हुन्। नयाँ पुस्तालाई साधना, धैर्यता र अभ्यासको महत्व सिकाउने माध्यम हाम्रा सम्पदा नै हुन्।”

Health Tips Ad Road Block