काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने मिति लम्बिएको छ । बैंकले निष्काशन गरेको ७ वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबिबिएल डिवेञ्चर २०८८’ मा आवेदन दिने मिति वैशाख २१ गते सम्मका लागि लम्बिएको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि ऋणपत्रमा आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताका लागि नै आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।






















