काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)ले काठमाडौंमा एक दिवसीय एडुक्लेभ ३.० सम्पन्न गरेको छ । काठमाडौंको मेरियट होटलमा सम्पन्न एडुक्लेभमा उपस्थित वक्ताहरुले शिक्षाका लागि वैदेशिक रोजगारमा जानु आजको समस्या मात्रै नभइ त्यसको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन् । विशेषत नीतिगत पैरवीका लागि विभिन्न सेसन राखेर एडुक्लेभमा छलफल गरिएको छ ।
एडुक्लेभमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उच्च शिक्षा हासिल गर्न चाहने स्वदेशी र विदेशी विद्यार्थीका लागि शैक्षिक केन्द्र स्थापना गर्न सकिने सम्भावना औंल्याउँदै यो क्षेत्रलाई सेवा उद्योगकोरुपमा विकास गर्न सरकारले प्राथमिकता दिएको बताए । उनले शैक्षिक परामर्श क्षेत्र र संघसम्बन्धी ऐनको प्रक्रियागत झन्झट हटाएर सेवा प्रवाहलाई सरल र सहज बनाउन सरकार प्रयासरत रहेको धारणा राखेका छन् ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विदेशमा अध्ययनमा गएका विद्यार्थीहरुको तथ्याँक राज्यले व्यवस्थित गर्न लागेको बताउँदै उचित ऐन, नियम बनाएर अगाडि बढिने बताए ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाललाई शैक्षिक हब बनाउन राज्य तयार हुनुपर्ने बताए । विगत लामो समयदेखि आफूहरुले यो आवाज उठााइरहेको भएपनि सरकारले त्यसमा ठोस नीति निर्माण नगरेकोमा उनले दुःख व्यक्त गरे । शैक्षिक परामर्श वयवसायीहरुले विद्यार्थीहरुलाई विदेश पठाउनेमात्र नभइ विदेशी विद्यार्थीहरुलाई नेपालमा ल्याउने भूमिका निर्वाह गर्नसक्ने ठोकुवा गर्दै बरालले विदेशी विद्यार्थीहरुको बसोबासको व्यवस्था, शैक्षिक भिसाको व्यवस्था र सुरक्षाको ग्यारेन्टीको गर्नुपर्ने बताए । कृषि, सूचना प्रविधि, अनुसन्धान, संस्कृति लगायत क्षेत्रमा विदेशी विद्यार्थीहरुलाई नेपालमा ल्याउन सिकने र नीतिगतरुपमा यसलाई सम्बोधन गर्नुपर्ने उनले बताए ।
त्यस्तै इक्यानका अध्यक्ष शेषराज भट्टराईले विदेश अध्ययनमा गएका विद्यार्थीहरुलाई स्वदेश फर्काउने सरकारको स्पष्ट नीति आवश्यक रहेको औंल्याए । विदेशमा पुगेका विद्यार्थीहरुले आर्जन गरेको ज्ञान, सीप, अनुभव र पूँजीलाई देश विकासमा प्रयोग गर्ने ठोस योजना ल्याउन उनले सरकारलाई आग्रह गरे ।
कार्यक्रममा नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोज ज्ञवालीले करिअर विकासका धेरै विकल्पहरु हुँदाहुँदै पनि विद्यार्थीहरु कुन विषय पढ्ने र के गर्ने भन्ने विषयमा अल्मलिएको बताए । विगतको पुस्तामा जस्तो डाक्टर वा इन्जिनियर बन्छु भनेर निश्चित लक्ष्य लिने अहिलेका विद्यार्थीमा नदेखिएको भन्दै ज्ञवालीले कसैको लहैलहैमा पढ्न भनेर विदेश जान नहुने सुझाए । घोकन्ते विद्याले अहिलेको पुस्तालाई बिगारेको दाबी गर्दै उनले नतीजा मात्र खोज्ने शिक्षा प्रणालीभन्दा दिर्घकालिनरुपमा सहयोग पुर्याउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले खुकुलो नीतिका कारण बेलायतमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको धारणा राख्दै त्यहाँको शिक्षा विद्यार्थीको जीवन परिवर्तन गर्ने खालको रहेकाले आकर्षण रहेको बताए । नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने र सोही अनुरुपको नीतिमा उनले जोड दिए । व्यवहारिक शिक्षा विश्वका जुनसुकै मुलुकमा काम लाग्ने भन्दै उनले नेपालमा व्यवहारिक र सिपमुखी शिक्षा दिने नीति चाहिएको बताए ।
इक्यानका महासचिव दिपकराज भुसालले शिक्षा मन्त्रालय र सरोकारवाला निकायले यस क्षेत्रलाई नीतिगतरुपमा व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै सुधारको आवश्यकता औंँल्याए ।
कार्यक्रममा पूर्व मन्त्री प्रदीप ज्ञवाली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, नेपालको सार्वजनिक शिक्षा सुधारका क्षेत्रका कलम चलाउँदै आएक युवा नेता मिलन पाण्डे लगायतले नेपालको शिक्षा क्षेत्रमा रहेको सम्भावना र विश्व बजारमा नेपाली विद्यार्थीहरुको पहुँच विस्तारबारे चर्चा गरेका थिए । त्योसँगै नीतिगत सुधारका विषयमा नै जोड दिएका थिए । उच्च शिक्षा र रोजगारीको खोजीमा युवाहरु विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै क्षणिक मनोरञ्जन र भाइरल हुने प्रवृतिप्रति युवाहरु सजग रहनुपर्ने उनीहरुको सुझाव थियो । उनीहरुले विद्यार्थीहरुलाई स्वदेशमै टिकाउन शिक्षा प्रणालीको सुधार गर्नुपर्ने बताएका थिए ।
गुणस्तरीय शिक्षामा जोड दिँदै नेपालको शिक्षाको भविष्य र अन्तर्राष्ट्रियकरणका विभिन्न आयामहरुमाथि एडुक्लेभमा छलफल भएको थियो। एडुक्लेभबारे समग्र जानकारी दिँदै इक्यानका कोषाध्यक्ष आशिक कार्कीले यो तेस्रो संस्करणको एडुक्लेभ रहेकाे र कार्यक्रमको मुख्य उदेश्य नीतिगत विषयमा संवाद गरेर त्यसकाे सुधारका लागि पहल गर्नु रहेकाे जानकारी दिए । कार्कीका अनुसार यो क्षेत्रमा आवश्यक नीतिहरुलाई सुधार गर्न नै प्रत्येक वर्ष एडुक्लेभ गर्दै आइएको हो । यस क्षेत्रका कस्ता कस्ता नीति चाहिनेछ र त्यो नीतिको सुधार गर्न नीतिगत तहका व्यक्तिहरुलाई जानकारी भएपछि सुधारमा लाग्छन् भन्ने मान्यताअनुरुप एडुक्लेभ गरिएको हो । निचाेडमा शिक्षा मन्त्रालय मातहत दर्ता भएका करिब ९ सय संस्थाहरु मात्रै छन् तीबाहेक दर्ता नभएका शैक्षिक परामर्श संस्थाहरुको दर्ता एवम् व्यवस्थापनमा सुधार गर्न नीतिमा नै सम्बोधन हुनुपर्ने, यसक्षेत्रमा सही सूचना प्रदान र विदेशबाट विद्यार्थी ल्याउन राज्यका निकायले सुधार गर्नुपर्ने, यस व्यवसायमा नीतिगत अफ्ठ्यारा फुकाउन एवं राज्यको हेर्ने दृष्टिकोण सकारात्मक बनाउन एडुक्लेभ सफल भएको दाबी काेषाध्यक्ष कार्कीकाे छ ।
५ वटा प्यानल छलफल, दुई जना अतिथि र एक मन्त्रीसँग एडुक्लेभमा फरक फरक छलफल र संवाद गरिएको थियो ।