skip this News Page Tips Ad Road Block

प्रेस काउन्सिलले भन्यो–रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताएका छन् । काठमाडौंमा भएको एसिया प्यासिफिक अप्टिमिस्टिक कन्फ्रेन्समा बोल्दै अध्यक्ष बस्नेतले नेपाली पत्रकारिताले अब रचनात्मक पत्रकारितामा जोड दिनुपर्ने बताए । त्यसका लागि काउन्सिलका तर्फबाट सहयोगी भूमिका रहने र काउन्सिलले प्रदान गर्ने तालिम प्रशिक्षणमा पनि रचनात्मक पत्रकारिताका विषयवस्तु समेटिने बताए ।

‘काउन्सिलले मिडिया हाउससँग सहकार्य गरेर यो विषय अघि बढाउनेछ, यसको निर्णय भइसकेको छ । त्यस्तै विश्वविद्यालयमा पाठ्यक्रममा समावेश गर्न अनुरोध गरेका छौँ । यससम्बन्धी पाठ्यसामग्री तयार गर्ने तयारीमा पनि छौँ ।’ उनले भने, ‘  अहिले अनलाइन अभिमुखीकरण कार्यक्रममा समेत एउटा सेसनको रूपमा रचनात्मक पत्रकारिता समावेश गर्ने निर्णय भइ कार्यान्वयनको चरणमा रहेको छ ।’ काउन्सिलले रचनात्मक पत्रकारिता पाठ्यक्रममा समावेश गर्न ८ महिनाअघि नै सबै विश्वविद्यालयलाई पत्राचार पनि गरिसकेको छ ।

कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले सही, सत्य तथ्य सूचना सम्प्रेषण भएमामात्र कतिपय विषय समाधान हुने भन्दै पत्रकारिताको विकासको लागि विभित्र पाठ्यसामग्री तयारी गरिएको बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले सन्तुलित सामग्री सम्प्रेषणमा थप ध्यान दिनुपर्ने भन्दै मिडियामा आएका सामग्रीले जनताको जीवनस्तर परिवर्तन भएको दृष्टान्त पेस गरे । यस्तै सञ्चारिका समूहकिअध्यक्ष विमला तुम्खेवाले रचनात्मक पत्रकारिताबारे पत्रकारबीच घनिभूत छलफल चलाउनुपर्ने भन्दै सञ्चारिका समूह सहकार्य गर्न तयार रहेको धारणा राखिन् ।

रचनात्मक पत्रकारितामा अध्ययन अनुसन्धान गरिरहेका पत्रकार कला अनुरागीका अनुसार आशा जगाउने अभियानको महत्त्वपूर्ण साधन मिडिया हो । खोजी गरेर कारण र समाधानका उपायसहितको समाचार लेख्नु नै रचनात्मक पत्रकारिता भएको उनको भनाइ छ ।

विस्तृत, समीक्षात्मक, खोजमूलक पत्रकारिताले जनविश्वास समेत अभिवृद्धि गर्न सघाउने वक्ताहरुको भनाइ थियो । फुटेको ऐनाका टुक्रा बिजेको जस्तो नकारात्मकता बढी दिनेगरी पत्रकारिता भइरहेकोले समाधान केन्द्रित रचनात्मक पत्रकारिता गर्न अभियान छेड्नुपर्नेमा उनीहरुको जोड रहेको छ ।

Health Tips Ad Road Block