skip this News Page Tips Ad Road Block

महासंघको ५९ औँ वार्षिक साधारण सभा: आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने अध्यक्ष ढकालको धारणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताए । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरुको साझा धारणा बनाउनु पर्नेमा अध्यक्ष ढकालको जोड थियो ।

उनले भने, “अर्थतन्त्रलाई कुनै पनि वादले विथोल्नु हँदैन। यसलाई सबैभन्दा माथि राख्नु पर्छ । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी गर्नुपर्छ । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।”

विगतमा सरकारले चाहिने भन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राखे । प्रतिकुलतामा अनुकुलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्ने तर्फ सरकार र निजी क्षेत्र लाग्नु पर्नेमा अध्यक्ष ढकालको जोड थियो । “म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरुको चाहना पुरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिदैंन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो ।” उनले भने ।

पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा सम्पन्न चारवटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उनले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए ।

विश्वव्यापी रुपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिष्पर्धी मुलुकहरुको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकोले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।

देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिंदै अध्यक्ष ढकालले यसले मुलुकका ७७ वटै जिल्ला र मुलुक बाहिर छरिएर रहेको सानोसानो पूँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको बताए ।
पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु पर्नेमा जोड दिए ।

सरकारले महासंघको आग्रहमा गरेको नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग गठन, करिब ३५ वटा कानुनमा सुधार, द्विपक्षीय लगानी सम्झौताको खाका तयार तथा उत्पत्तिको प्रमाण पत्रलाई पूर्ण अनलाइन बनाउने जस्ता कार्य सकारात्मक भएको बताउँदै सरकारको यो अग्रसरताले अर्थतन्त्रलाई चलायमान बनाउने बताए । यद्यपीे देशमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको , ८० प्रतिशत भन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान र ८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र अझै सम्मानित हुने अवस्था नरहेको बताउँदै, उनले निजी क्षेत्रको सुरक्षा, सम्मान र मर्यादाक्रमको बिषयमा सरकारको ध्यानाकर्षण गराए  । “हामीले सुरक्षाको विषय उठाएका हौं । सम्मानको बिषय उठाएका हौं । मर्यादाक्रमको बिषय उठाएका हौं  । यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सद्भाव चाहिएको हो । ”उनले भने ।

Health Tips Ad Road Block