skip this News Page Tips Ad Road Block

फ्रि भिसा फ्रि टिकटको पपुलर नाराले वैदेशिक रोजगारमा जाने श्रमिक मारमा परेः म्यानपावर व्यवसायी

वर्तमान कार्यसमितिको कार्यकाल पूर्णरुपमा सफल भएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघद्धारा उपलब्धी सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान नेतृत्वले आफ्नो कार्यकाल सफल भएको दाबी गरेको छ । आज संघको कार्यालयमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वर्तमान कार्यसमिति सफल भएको बताएका हुन् । उनले हालको कार्यसमितिले गरेका उपलब्धीहरु र आगामी योजनाहरुबारे सो अवसरमा जानकारी दिएका थिए । कार्यकालको समीक्ष गर्दैगर्दा अध्यक्ष भण्डारीले फ्रि भिसा फ्रि टिकटको पपुलर हुने नाराले अन्तत्वगत्वा श्रमिकलाई मार परिरहेको बताए । उनले बरु जति लाग्छ त्यसको व्यवहारिक व्यवस्था गर्नुपर्ने भनाइ राखे । यसबीचमा धेरै संघर्ष गर्नुपरेको बताउँदै उनले आफ्नै प्रशासनिक भवन खरिद गर्ने देखि लिएर वर्तमान कार्यसमितिले धेरै काम गरेको तर केही पूरा गर्न बाँकी रहेका काम अब आउने कार्यसमितिले पूरा गर्ने आशा व्यक्त गरे ।

संघका महासचिव मेघनाथ भुर्तेलले संघको वर्तमान कार्यसमितिले नीतिगत सुधार तथा यस व्यवसायलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन धेरै कामहरु गरेको दाबी गरे । संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्रीले संघले अन्तर्राष्ट्रिय फोरममा समेत आफ्नो उपस्थिति जनाउन सकेको र यो व्यवसायलाई बुझाउन धेरै काम गरेको धारणा राखे ।

यस्तो छ पत्रकार सम्मेलनमा संघले जारी गरेको विज्ञप्तिको पूर्णपाठ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०७९ माघ ६ गते सम्पन्न संघको २९ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले २६ महिनापछि नेतृत्व हस्तान्तरण गर्दै छौं । संघको एक कार्यकाल पुरा गर्दा धेरै प्रतिवद्धता पुरा गर्न सकियो भने केही पुरा हुने चरणमा छन् केही अब आउने कार्यसमितिले पुरा गर्नु पर्ने हुन्छ ।

संघले आफ्नो कार्यकालमा धेरै आरोह–अवरोह नखेपेको होइन तथापी हामी विचलित नभइकन आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेनौ । जसका कारण संघले आफु स्थाापित भएको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन पायो । संघमा आवद्ध करिव एक हजार व्यवसायीहरुको छाता संस्थाको आफ्नै भवन खरिद गर्न सक्नु बर्तमान कार्यसमितिको प्रमुख उपलब्धी हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारीले संघ भवनको भर्खरै औपचारिक उद्द्धाटन गरिसक्नु भएको छ ।

संघको वर्तमान कार्यसमितिमा देखिएको एकता र परिणाममूखी काम गर्ने शैलीकै कारण संघको अगुवाईमा एकपछि अर्को उपलब्धीहरु हासिल भएका हुन् । संघका सबै पदाधिकारीले आ–आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्दा नै संघ कार्यसमिति सफल भएको हाम्रो बुझाई छ । यसबीचमा हामीले व्यवसायिक हकहित, व्यवसायीका समस्या समाधान, नीतिगत सुधारका प्रयत्न, सामाजिक उत्तरदायित्वलगायतका थुप्रै काम गर्न सफल रह्यौं ।

वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, व्यवसायिक र पारदर्शी बनाउँदै यसलाई गर्व गर्न लायक व्यवसाय बनाउन हामीले भरपुर प्रयास गर्यौँ । तथापी हामीले कार्यकाल सम्हाल्दै गर्दा उठाएका केही एजेण्डाहरु प्रयास गर्दागर्दै पनि टुंगोमा पुर्याउन सकेका छैनौं । यसलाई अब आउने नयाँ नेतृत्वले पुरा गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

संघको ३१ औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम २०८१ फागुन २ गते निर्धारण गरिएकोमा प्राविधिक कारणवश अन्तिम समयमा आएर स्थगित गर्न बाध्य भएका थियौं । स्थगित साधारणसभा २०८२ असार १७ गते गर्ने निर्णय गरिएकोमा छिटो भन्दा छिटो साधारणसभा सम्पन्न गर्ने र नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने हाम्रो हुटहुटीका कारण साधारणसभा तथा निर्वाचनको कार्यक्रम २०८१ चैत्र २९ गते गर्ने गरी हामीले निर्धारित कार्यक्रमलाई अगाडि सारेका छौं ।

वर्तमान कार्यसमितिले गरेका संक्षिप्त उपलब्धीहरुः

– आफ्नै प्रशासनिक भवन खरिद ।

–गुनासो सुनुवाईको सम्यन्त्र अन्तरगत वैदेशिक रोजगार विभाग श्रमग्राम परिसरमा उजुरी, गुनासा सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण ।

–व्यवसायी तथा कामदारको ३४ सय उजुरीगुनासाहरु व्यवसायी र कामदार सँगै राखेर समाधान गर्न सफल ।

–सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्य तथा संवादलाई सुमधुर बनाउने कार्य ।

– क्षेत्रगत सुधार, नीतिगत सुधार र सामाजिक उत्तरदायित्वका कामलाई प्रमुख प्राथमिकता दिएर काम गर्न सफल ।

–सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा क्षमता अभिवृद्धि कार्यक्रम गर्न सफल ।

–यूएईमा रोजगार मेला आयोजना गर्नुका साथै साउदी, कतार, यूएई, मलेसियालगायतका मुलुकमा स्थलगत भ्रमण तथा अन्र्तक्रिया कार्यक्रम गर्न सफल ।

–विदेशमा रहेका नेपाली कुटनैतिक निकायमा नयाँ नियुक्त भएका राजदूत, श्रम सहचारी तथा श्रम काउन्सिलरसँग भेटघाट तथा अन्तक्रिया ।

–अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाएर व्यवसायीको आवाज उठाउन सफल ।

–सय संख्याको बाध्यात्मक प्रावधानलाई २ पटक सम्म बाधाअड्काउ फुकाउने काम गराउन सफल र यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पुर्याउन सफल ।

–वैदेशिक रोजगार व्यवसायमा लगाउन खोजिएका सिण्डिकेटका प्रयासलाई विफल बनाउन सफल साथै हालसालै मात्र मलेसिया रोजगारमा गएका कामदारलाई ४५ डलर रोजगारदाता मार्फत लाद्न खोजेकोमा यसको विरुद्ध आन्दोलन गरेर यसलाई हटाउन सफल ।

–वैदेशिक रोजगार ऐन अनुसार व्यवसायीले राखेको धरौटीबाट २५ प्रतिशत व्याज वैदेशिक रोजगार कोष सञ्चालनका लागि ल्याउन सफल ।

–यूरोपको मागपत्र प्रमाणिकरण खुलाउन, साउदी आइडी खुलाउन, कोरिया–जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरुको पहुँच पुर्याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकास गर्न साथै वैदेशिक रोजगार ऐन–२०६४ संशोधनमा उल्लेख्य सफलता ।

–व्यवसायीको मृत्यु तथा विरामी भएमा उनीहरुको परिवारलाई आर्थिक सहयोग गर्ने व्यवस्था सुरु ।

–विभिन्न परिवन्धमा परेर साउदी अरवको जेलमा परेका व्यवसायी विरेन्द्र साह तेलीको रिहाईका लागि पैरबी ।

–सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई समस्या पर्दा सहयोग तथा स्वदेशमै प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोग ।

–विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकाहरु उद्यमीलाई सम्मान गरेर विदेशमा सिकेको सीप, क्षमता र आर्जित पूजि स्वदेशमा लगाउन प्रोत्साहित गर्ने कार्यको थालनी ।

–संघमा सदस्यता आवद्धता बढाएर झण्डै एक हजार सदस्य बनाउन सफल ।

–व्यवसायी माथि हुने आक्रमणमा सुरक्षाको प्रत्याभूत गराउन, व्यवसायीहरुलाई एकवद्ध बनाउन र सबै व्यवसायीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउन सफल ।

यो कार्यसमितिले व्यवसायी माझ प्रतिवद्धता जनाएका केही मुद्धा टुंगोमा पुर््याउन निरन्तर प्रयत्न गरे पनि अधुरो रहेकोमा अब आउने नेतृत्वले त्यसलाई पुरा गर्नुपर्नेछ । नयाँ नेतृत्वले सेवाशुल्क निर्धारण, मागपत्र प्रमाणिकरण, आकर्षक गन्तब्यमा व्यवसायीको पहुँच बढाउँदै सम्मानित र व्यवस्थित वैदेशिक रोजगार बनाउनु पर्नेछ ।

अन्तमा हाम्रो कार्यकाललाई उपलब्धीमूलक र सफल बनाउन सहयोग पुर्याउनुहुने नेपाल सरकार, सरोकारित मन्त्रालय तथा विभाग, आम व्यवसायी, विभिन्न सरोकारित संघ संस्था, संचारकर्मीलगायत सम्पूर्णमा हार्दिक आभार ज्ञापन गर्दछौ ।

व्यवसायीहरुका लागि आगामी योजनाः

१. समय सापेक्ष ऐन नियम परिमार्जनमा पहल गर्नु पर्ने ।

२. सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण ।

३. वभििन्न नयाँ गन्तव्य मुलुकहरुसंँग श्रम सम्झौताका लागि पहल गर्नु पर्ने ।

४. मागपत्र प्रमाणीकरण सहजिकरण गर्नु पर्ने ।

५. काठमाडाौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ तिनकुनेस्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नाममा रहेको जाग्गामा संघको नेतृत्व गर्नु भएका पूर्वज जो मृत्युवरण गर्नुभएको छ उहाँहरुको सम्झनामा स्मारक स्थापना गने तयारी रहेको छ ।

६. वैदेशिक रोजगार व्यवसायी संघको भवनको क्षेत्र विस्तार ।

७. वैदेशिक रोजगारमा गएर शिप सहित फर्किएका श्रमीकहरुलाई अन्तरीक रोजगारीमा व्यस्थापन गर्ने इजाजत पनि वैदेशिक रोजगार व्यवसायीलाई दिन सरकारसँग पहल गर्नु पर्ने ।

कामदारका लागि आगामी योजनाहरुः

१. रोजगारदाता मुलुक संग हुने श्रम सम्झौतामा कामदारको २४ घण्टे बिमाको व्यवस्थापनमा पहल ।

२. न्यूनतम ज्यालाको सुनिश्चितताका लागि पहल ।

३. सेण्डीङ कन्ट्रीका व्यवसायिक संगठनहरुसँग साझा धारणा बनाई अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गरि कामदारको लागत न्यूूनिकरण गर्ने ।

४. विभिन्न निकायसँग समन्वय गरि कामदारका लागि सिप विकासका कार्यक्रमहरु ल्याउन पहल गर्नु पर्ने ।

५. वैदेशिक रोजगारमा जानु पूर्व कामदारलाई मेन्टल हेल्थ तालिम प्रदानका लागि पहल गर्ने ।

६. वैदेशिक रोजगारमा जानु पूर्व कामदारलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान प्रदान गर्नु पर्ने ।

७. सामाजिक सुरक्षा कोषमा आवद्धताको जागरण अभियान गर्नु पर्ने ।

संघको २०७९ माघ ६ गते सम्पन्न संघको २९ औं साधारणसभाबाट निर्वाचित भण्डारी नेतृत्वको कार्यसमितिले २६ महिनापछि नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गर्दैछ । यही चैत्र २९ गते हुने संघको ३० औं साधारणसभा तथा निर्वाचनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

Health Tips Ad Road Block