skip this News Page Tips Ad Road Block

बैंंकर्स संघ अध्यक्ष भन्छन्–बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के भन्ने चिन्ता छ

दिर्घकालिन नीति ल्याउन सरोकारवालाको जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के हुने भन्ने चिन्ता रहेको बताएका छन् । मंगलबार नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले आयोजना गरेको नाडा डाइलग २०८१ मा ‘लङ्ग टर्म पोलिसिज् फर अटोमोबाइल सेक्टर’ अन्तर्गत आफ्नो धारणा राख्दै अध्यक्ष कोइरालाले पछिल्ला वर्षमा विद्युतीय सवारीसाधनको क्रेज बढेको र ऋण पनि त्यसमै गइरहेको बताए । यसमा सरकारको नीति अनुरुप बैंकहरुले राम्रो सहयोग र ऋण प्रवाह गरिरहेको उनले बताए । ऋण प्रवाह गरेअनुरुप प्रतिफलको चासो पनि रहने उनले उल्लेख गरे ।

बैंकहरूले हालसम्म विद्युतीय सवारीको लागि एक खर्ब १३ अर्ब ऋण दिएको कोइरालाले बताए । अब गुणस्तरीय सवारीसाधन भित्र्याउन सरकारले मापदण्ड तोक्नुपर्ने कोइरालाको भनाइ छ ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक भीमप्रसाद श्रेष्ठले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा यसको लागि पर्याप्त पूर्वाधार, मर्मतको लागि जनशक्ति लगायतमा सरकार र निजी क्षेत्र दुवैले ध्यान दिनुपर्ने धारणा राखे । प्रविधिमा आएको परिवर्तनसँगै शिक्षा क्षेत्रमा समेत चुनौती थपिइरहेको भन्दै उनले सरकारले ल्याउने नीतिमा आगामी १०–२० वर्षभित्र कस्तो बनाउने भन्ने अध्ययन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । पूर्वाधार विकास गर्दा न्यूनतम १० वर्षसम्म चल्न सक्ने हुनुपर्ने उनको भनाइ छ । विद्युतीय सवारीसाधन आयात गर्दा नेपालमा डम्पिङ नहोस् भनेर त्यसको गुणस्तरमा ध्यान दिनुपर्ने उनको सुझाव छ । यसैगरी मर्मत गर्ने जनशक्ति तयार पार्नुपर्नेमा पनि श्रेष्ठको जोड रहेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले कुनै पनि शहरमा गुड्ने गाडीले त्यस देशको विकास दर्शाउने भन्दै विश्व नै विद्युतीय सवारीसाधनतर्फ गइरहेको र नेपालले पनि सोही अनुसारको दिर्घकालिन नीति बनाएर अघि बढ्ने पक्षमा रहेको बताए । राजस्वसहित कुन-कुन क्षेत्रमा असर पर्छ भन्ने विषयबारे अध्ययन हुनुपर्ने पनि उनको भनाइ थियो ।

Health Tips Ad Road Block