ललितपुर । ललितपुरका सिलाई तथा कपडा व्यवसायी लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । व्यवसायीहरुलाई सिलसिला मिलाएर बोल्ने शैली, औपचारिक कार्यक्रम सञ्चालन गर्ने विधि र भाषण कलासम्बन्धी चारदिने तालिम दिइएको हो ।
तालिम समापन कार्यक्रममा मन्तव्य राख्ने क्रममा ललितपुर महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रुपेन्द्र राज शाक्यले बोल्ने शैलीको विकास अनिवार्य सर्त रहेको दाबी गरे । ‘जुनसुकै पेशा व्यवसायमा आवद्ध रहेका मान्छेलाई व्यक्तित्व विकास गर्नमा बोलीले साथ दिन्छ । विद्यार्थीहरुको प्रेजेन्टेसनदेखि सीप सिकेका दिदीबहिनीहरुको व्यवसाय राम्रो बनाउन पनि सहि तरिकाले ग्राहकसँग डिल गर्नुपर्छ ।’ शाक्यको भनाइ थियो । सिलासिला मिलाएर, प्रभावकारी ढंगले एवं आकर्षक तरिकाले बोल्नेहरुको व्यवसाय फस्टाएको समाजमा धेरै उदाहरण रहेको सो अवसरमा प्रस्तुत गरिएको थियो । सीप जानेका उद्यमी र व्यवसायीहरुको उद्यमशीलता विकास गर्नमा समेत बोलीको भूमिका रहने सो अवसरमा औंल्याइयो ।
त्यस्तै ललितपुर कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष प्रेम महर्जनले जिल्लामा सक्रिय रहेका व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नको लागि उद्घोषण तथा आकर्षक ढंगले बोल्ने शैलीको तालिम दिइएको बताए । सीप जानेर पनि प्रगति गर्न गाह्रो भइरहेका व्यवसायीहरुको लागि तालिम कार्यक्रमले सहयोग गर्नेमा विश्वास उनले व्यक्त गरे ।
सञ्चारकर्मी केके मानन्धरले दिएको प्रशिक्षणमा कपडा तथा सिलाई व्यवसायीहरुको सहभागिता रहेको थियो ।






















