काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न माग राखी हुने गरेका आन्दोलन–प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ति जारी गरी चैत्र १५ गते शुक्रबार काठमाडौंमा भएको आन्दोलन–प्रर्दशनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निक्कै दुखद भन्दै महासंघले यसप्रति भत्सर्ना गरेको छ ।
सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंस्रक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्सर्ना गर्दै क्षतिपूर्ति हुनुपर्ने महासंघको माग छ ।
संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय रहेको महासंघको ठहर छ । विज्ञप्तिमा महासंघले भनेको छ, ‘कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भत्सर्ना गर्दछ । साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ ।’
आन्दोलन–प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना व्यक्त गर्दै महासंघले घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ ।





















