काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको ५८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष संचालक समितिका अध्यक्ष प्रदिपलाल श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीति उपर छलफल गरी पारित गरेको छ ।
कर्पोरेशनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले २०८०/२०८१ को कारोबारको समष्टिगतमा मूल्याङन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको अवगत गराए । उनले नून, खाद्य वस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी रु. १३ अर्ब ३५ करोड ३ लाख बराबरको कारोबार गरेको बताए । कर्पोरेशनले उक्त वर्ष १ अर्ब ४ करोड ९७ लाख रु. नाफा आर्जन गर्न सफल भएको जनाएको छ । साधारण सभाले २०८०/२०८१ को नाफाबाट चूक्तापूँजीको दश प्रतिशतका दरले शेयरहोल्डरहरुलाई नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । साथै सुनकोशी नदीलगायतमा आएको बाढीले जनधनको व्यापक क्षति पुर्याएकोमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरुका तर्फबाट समेत रु. ६० लाख उपलब्ध गराएको थियो ।
कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरुमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तर दायित्व समेत बहन गरेको श्रेष्ठले जानकारी गराए ।
कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रामा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैर अनुदानित रासायनिक मल एमुनियक सल्फेट र सिंगल सुपर फस्फेट मल कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ ।
अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुकभर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न नवीनतम एव सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरणतर्फ उन्मुख रहेको बताए ।





















