काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जिउँदै जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन भएको छ। एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् ।
आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको हो । उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ।
त्यसैगरी प्रदर्शनमा एक युवकको मृत्यु भएको पुष्टि भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार घाँटीमा गोली लागेर उनी अस्पताल पुगेका थिए । ४ः३० बजे अस्पताल पुर्याउँदै गर्दा नै उनको मृत्यु भएको थियो ।
यस्तै भाटभटेनी कोटेश्वरमा लुटपाटसँगै तोडफोड, जडिबुटीको कम्पनीमा आगजनी, विभिन्न गाडीमा आगजनीसँगै तोडफोड, एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड लगायतका घटना भएका छन् ।
ग्ह मन्त्रालयले हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भर्त्सनायोग्य रहेका छन्। यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रुपमा जिम्मेवार छन् । संविधानले सबै वर्ग, जाति, भाषा, लिङ्ग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै छ। शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाई हुँदैन। अतः यस प्रकारका अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन आम नागरिकलाई हार्दिक अपिल गर्दै कानूनको उल्लंघन गर्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ।’
स्थानीय प्रशासनले तिनकुने आसपासका क्षेत्रमा कर्फ्युसमेत जारी गरेको छ ।
यता समाजवादी मोर्चाको भृकुटीमण्डपमा भएको प्रदर्शन हजारौंको उपस्थितिमा शन्तिपूर्णरुपमा सम्पन्न भएको छ ।





















