skip this News Page Tips Ad Road Block

सुदूरपश्चिम प्रदेश सभामा दुईवटा महत्वपूर्ण विधेयक टेबल

Citizenlife ad 2082 falgun to baishak 2083

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा महत्वपूर्ण विधेयकहरू टेबल गरिएको छ।

सोमबार बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरिएको हो।

सामाजिक विकास मन्त्री मेघराज खड्‌काले सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १०७ को उपनियम (१) बमोजिम ती विधेयकहरू सभा समक्ष टेबल गर्न प्रस्ताव गरेका थिए ।

यसअघि वैशाख १७ गते नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले संसद सचिवालयमा दर्ता भई लामो समयदेखि प्रक्रियामा नगएका यी दुई विधेयकलाई अविलम्ब सदनमा पेश गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थियो। दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको उक्त बैठकले विधेयकहरू रोकिँदा संसदको कार्यप्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै गम्भीर ध्यानाकर्षण जनाएको थियो।

सरकारले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०८१/१२/०३ गते र बरघर तथा भलमन्सा प्रथा संरक्षण विधेयक २०८२/०२/२१ गते संसद सचिवालयमा दर्ता गराएको थियो। सचिवालयमा दर्ता भएको लामो समय बितिसक्दा पनि सदनमा पेश नभएको भन्दै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले यसलाई प्राथमिकतामा राख्न दबाब दिँदै आएको थियो।

Health Tips Ad Road Block