काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र इन्डोनेशियाबीच द्धिपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धको छलफलका क्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
उनले नेपाल र फ्रान्सबीच द्धिपक्षीय हवाई सम्झौता र समझदारीपत्र संशोधन कार्य अगाडि बढाएको समेत समितिलाई जानकारी गराए ।
छलफलको क्रममा मन्त्री पाण्डेले भने, ‘नेपाल एयरलाईन्सलाई बलियो बनाउनुको विकल्प छैन । नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउनका लागि हवाईजहाद खरिद नगरी कुनै उपाय नै छैन ।
नेपाल एयरलाईन्स जति बलियो भयो, जति क्षमतावान भयो उति नै यसले परिणाम दिने हो ।’ मन्त्री पाण्डेले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठूलो असमानता रहेको उल्लेख समेत गरे ।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्ने सम्बन्धी विधेयकहरु मन्त्रिपरिषद्बाट स्वीकृत भई आगामी १४ गते प्रतिनिधि सभामा प्रस्तुत हुने समेत बताए ।
मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धमा मन्त्रिपरिषद्बाट कार्ययोजना स्वीकृत गराई लागू गरिएको समेत जानकारी गराए ।






















