काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। त्यसैगरी कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
आजसम्म भर्न सकिने आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गरिरहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आइृपीओमा आवेदन दिन सक्नेछन्।






















