काठमाडौं । सोमबारदेखि काठमाडौंमा आयोजना भएको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनकाक्रममा नाडा र श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक शुरक्षामन्त्रालयको उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ भएको सम्मेलनमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्मेलनका दौरान प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली, श्रममन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा समझादारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका छन् ।

यसले रोजगारी र श्रमिकहरुको अभिवृद्धिका लागि सरकार र नेपालको नीजि क्षेत्र समन्वयात्मक रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ । यसलाई नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढने संकल्पको रुपमा लिएको छ ।
सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु दिएका थिए । आफ्नो प्रस्तुतीको क्रममाअध्यक्ष चौधरीले नेपालमा रोजगारीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढ्दो बसाइ सराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजश्वमार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोवाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु, नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरुका विषयमा तथ्याङ्कगत प्रस्तुती दिएका थिए ।
सोक्रममा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रिय कार्य समिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।
नाडा, सो सम्मेलनको वित्तीय सहयोगी भई आयोजकमध्येको एक संस्था भएको छ । नाडाले पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो ।
सम्मेलन मगलबार सकिनेछ ।






















