काठमाडौं । नेपालको बाह्य सूचक अझै मजबुत बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्याँकमा आधारित विवरणले यस्तो अवस्था देखाएको हो ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई २०८१ माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ माघ मसान्तमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ०५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ माघ मसान्तमा ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकको ठम्याइ छ ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । यो अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।























