काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले बुधबार स्वीकृत गरेको ५ वटा अध्यादेश आज राष्ट्रिय सभामा लगिँदै छ ।
प्रतिनिधिसभा बैठकले स्वीकृत गरेको सहकारीसम्बन्धी अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश राष्ट्रिय सभामा आज पेस गर्ने कार्य सूचि रहेको छ ।
सत्तामा रहेका दलहरुबीच नै सहमति जुट्न नसकेपछि सरकारले भूमिसम्बन्धी अध्यादेश बाहेक बाँकी ५ अध्यादेशलाई अघि बढाएको हो । प्रतिनिधिसभाले बहुमतले पारित गरेका अध्यादेश राष्ट्रिय सभाबाट पनि अनुमोदन गर्नुपर्दछ ।
राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि सरकारले ५ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागेको हो । संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुनेछ ।
राष्ट्रिय सभाको बैठक आज १ बजे बस्दैछ ।






















