कैलाली । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला देश दौडाहामा छन् । कहिले पातमा राखेर खाना खाएका छन् त कहिले मर्निङ वाक भन्दै जनताको घरदैलोमा पुगिरहेका छन् । प्रचण्डको यो दौडाहलाई कतिपयले सत्ता बाहिर बस्नुको छटपटि भनेका छन् त कतिपयले जनतालाई सम्झिएर गाउँ गाउँसम्म पुगेकोरुपमा अर्थ्याएका छन् । जसले जसरी बुझे पनि राजनीतिक रोटी सेकाउने मुख्य ध्याउन्न नै हो भन्नेहरु पनि भेटिन्छन् । प्रचण्डको देश दौडाहा जे भएपनि ती स्थानको वस्तुस्थितिबारे अध्ययन गर्नु राम्रो पक्ष भएकाे कतिपयकाे धारणा छ ।
यसैक्रममा कैलाली पुग्दैगर्दा प्रचण्डले सुनचाँदी व्यवसायको कुरा उठाए । उनले ठूलो परिमाणमा कारोबार हुने सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको सो अवसरमा बताए ।
कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले भने, ‘मैले प्रधानमन्त्रीको रुपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरु गरेको थिएँ । छुट्टै ऐनबिना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिदैन ।’ अध्यक्ष प्रचण्डले ‘यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायीले आवाज उठाउँदै आउनुभएको छ, यो माग जायज छ’, भने ।
काठमाडौंमा मात्रै केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यवसायीको माग जाजय रहेको र यो संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप हुने उल्लेख गर्दै यसका लागि पहल अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यसमा मदिराजस्तो विलासिता कर लगाउने कानुनी व्यवस्था सही नभएकाले यसलाई हटाउन पनि कानुन नै आवश्यक रहेको उनले स्पष्ट गरे ।
आफू प्रधानमन्त्री भएको बेलामा सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवद्र्धन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश गरिएको जानकारी गराउँदै यसको कार्यान्वयनका लागि व्यवसायीहरुले पनि आवाज उठाउन आवश्यक रहेको उनले बताए । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि आवश्यक सहयोग गर्ने पनि बताए ।






















