काठमाडौं । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग र आवश्यकताअनुसार दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८१ जारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, ललितपुर तथा प्रतिष्ठान मातहतका विभिन्न व्यवसायिक प्रशिक्षण केन्द्रमार्फत श्रम बजार लक्षित विभिन्न सीपमूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ। यस प्रक्रियाबाट दक्ष, प्रतिस्पर्धी तथा सीपयुक्त श्रमशक्ति उत्पादन गरी योग्यता र क्षमताका आधारमा सेवा–सुविधायुक्त रोजगारीको अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षाको दिगो व्यवस्थापन गर्ने तथा श्रमको सम्मानजनक अवस्था कायम गर्ने लक्ष्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राखेको छ। साथै राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले श्रम बजारको मागअनुसार सीपयुक्त मानव संसाधन उत्पादन गर्दै आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गरिएको छ।
हाल सञ्चालनमा रहेका व्यवसायिक प्रशिक्षण केन्द्रहरूलाई सातै प्रदेशमा विस्तार गर्न अध्ययन कार्य प्रारम्भ भइसकेको जनाइएको छ। रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने संख्याका आधारमा पहिलो चरणमा मधेश प्रदेशमा व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णयअनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति फागुन ६ को निर्णयअनुसार फागुन २० गते भूमि सुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौतामा हस्ताक्षर भई व्यवसायिक प्रशिक्षण केन्द्र, बलवाको भवन निर्माणार्थ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नाममा सरकारी जग्गा प्राप्त भएको छ।
श्रम बजार लक्षित दक्ष तथा सीपयुक्त जनशक्ति उत्पादन र आपसी हित प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रालयले प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय संवाद र समन्वयलाई निरन्तर अघि बढाएको छ। यसैक्रममा, साउदी सरकारबाट बहुउद्देश्यीय पोलीटेक्निकल इन्स्टिच्युट (व्यवसायिक प्रशिक्षण केन्द्र) स्थापनाका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न प्राप्त १० लाख अमेरिकी डलर आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा महोत्तरी जिल्लाको बलवा नगरपालिकामा बहुउद्देश्यीय व्यवसायिक प्रशिक्षण केन्द्र स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ। साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीति निर्देशनमा रही प्रतिष्ठानले सातै प्रदेशमा व्यवसायिक प्रशिक्षण केन्द्रहरू प्राथमिकताका साथ विस्तार गर्ने लक्ष्य राखेको छ। यसले श्रम बजारको मागअनुसार सीपयुक्त मानव संसाधन उत्पादन गर्दै आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर वृद्धि गर्न कोशेढुंगा सावित हुने आशा गरिएको छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले यस कार्यलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, उद्योग संघसंस्था तथा स्थानीय समुदायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






















