काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकार सँग आग्रह गरेका छन् । नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि जापानी राजदूत समक्ष आग्रह गरेका हुन् ।
मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको भन्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताए । ‘जापानले प्रविधिको प्रयोगमार्फत गरेको उत्पादन वृद्दि र यसले समग्र कृषिको क्षेत्रमा पुगेको उपलब्धी महत्वपूर्ण छ,’ कृषि क्षेत्रमा जापानले गर्दै आएको प्रयोग नेपालले पनि सिक्न जरुरी रहेकाले प्राविधिक ज्ञानका लागि सहकार्य गर्न सकिने मन्त्री अधिकारीले उल्लेख गरे। ‘अहिले पनि जापानी स्वयम् सेवकहरुले मन्त्रालय मातहतका विभिन्न कार्यलयहरुमार्फत सहयोग गरिरहेका छन् । यसमार्फत जापानमा प्रचलित कृषिको अभ्यास नेपालीले सिक्ने मौका प्राप्त भएको छ,’ मन्त्री अधिकारीले भने।
नेपालले कृषिमा लगानी दशक घोषणा गरि लगानी भित्रयाउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्ताहरुलाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूत समक्ष आग्रह गरे । आगामी वर्ष नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुग्ने उल्लेख गर्दे मन्त्री अधिकारीले यस अवसरमा समेत जापानको निस्वार्थ सहयोगमा अझ वृद्दि हुने अपेक्षा व्यक्त गरे ।
भेटवार्तामा जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगका थप सम्भावनाहरुको अध्यायन गर्ने प्रतिवद्घता व्यक्त गरे । जापानले कृषिको विकासमा उपकरणको प्रयोगलाई महत्व दिएको उल्लेख गर्दै नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दे जानुपर्नेमा उनले जोड दिए। नेपालको चिया र हर्वल उत्पादनहरुको जापान राम्रो बजार हुन सक्ने भएकाले यसको निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदूत तोरुले उल्लेख गरे ।






















