काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा केबलकार क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आव्हान गरेको छ । त्यसैगरी सत्तारुढ दल नेकपा एमालेले पनि सम्बन्धीत पक्षसँग छलफल गरी निर्माण अघि बढाउनुपर्ने निर्णय लिएको छ ।
गृहमन्त्री रमेश लेखकले राष्ट्रियसभाको बैठकमा सांसदहरुको विभिन्न प्रश्नबारे जवाफ दिनेक्रममा पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको बताउँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समस्याको समाधान खोज्न भनेका हुन् । यता नेकपा एमालेको केन्द्रीय सचिवालयको ४५औं बैठकमा पाथीभरा केबलकार निर्माणका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्ष छलफलमा बस्नुपर्ने सुझाव प्रस्तुत गरेको बैठकपछिको पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले जानकारी दिए ।
राष्ट्रिय सभा बैठकमा मन्त्री लेखकले पाथीभरा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले आवश्यक पहल गरिरहेको पनि स्पष्ट पारेका छन् । सरकारले वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको भन्दै त्यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गत माघ २० गते वार्ता टोली पनि गठन भएको एवं वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण र संवाद गरिरहेको पनि बताए ।
मन्त्री लेखकले वार्ता समितिले आन्दोलनरत पक्षलाई वार्ताका लागि फागुन १२ गतेका पुनः बोलाएको पनि बताएका छन् । आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री लेखको भनाइ छ ।
एमालेले ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरिकन समस्यालाई समाधान गर्न बैठकमा ध्यानाकर्षण गराइएको समेत बताएका छन् ।






















