काठमाडौं । पल्लभी लुब्रिकेन्टस लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतापत्रमा पल्लभी लुब्रिकेन्टसका तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने कम्पनीका अध्यक्ष राठीले बताए ।
मोरङ जिल्लाको कटहरी गाउँपालिकामा उद्योग स्थापना गरी करिब ४० जनाभन्दा बढी कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिई कम्पनीले करिब ३० प्रकारका वस्तु उत्पादन गरिरहेको छ।






















