Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘माओवादीको १० वर्षे हिंसाले नेपालको विकास र समृद्धि ५० वर्ष पछि धकेलियो’

एमाले पृथ्वी नारायण शाहको उत्तराधिकारी पार्टी होः योगेश भट्टराई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका छन् ।

नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको वृहत् वनभोज, ल्होसार पर्वहरू र सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा एकीकरणको काम अझै बाँकी रहेको र त्यो कार्यभार पूरा गर्ने जिम्मेवारी एमालेले लिएको चर्चा गर्दै आफ्नो पार्टी एमाले पृथ्वीनारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका हुन् । पृथ्वीनारायण शाहको अगुवाइमा नेपालको भूगोलको एकीकरण भए पनि समग्रतामा नेपालको एकीकरणको काम अझै पनि सम्पन्न नभइसकेको उनको भनाइ छ ।

‘यो देशमा पृथ्वीनारायण शाहको अगुवाइमा नेपालको राष्ट्रिय भूगोलको एकीकरण भयो । हामीले एउटै देश नेपाल भनेर चिन्यौँ । समग्रतामा नेपालको एकीकरणको काम अझै पनि सम्पन्न भइसकेको छैन,’ सचिव भट्टराईले भने, ‘हाम्रा देशका सबै एक सय भन्दा बढी जाती–जनजातीलाई एकताबद्ध गर्ने, देशको गरिबी, पछौटेपनलगायत अन्य विभिन्न समस्याहरूलाई हल गर्ने, सिङ्गो नेपाललाई समतामुलक समाजको रुपमा स्थापित गर्ने, सामाजिक, लैंगिक र जातीय विभेद अन्त्य गर्ने, आर्थिक हिसाबबाट नेपालाई सम्पन्न बनाउने यो ऐतिहासिक अभिभारा नेपालको एकीकरणको दोस्रो भाग हो । त्यो दोस्रो भाग नेकपा एमालेको अगुवाइमा सम्पन्न हुनुपर्छ । नेकपा एमाले त्यस अर्थमा पृथ्वी नारायण शाहको पनि उत्तराधिकारी पार्टी हो ।’

आफूहरू पुनः भूगोलको एकीकरणतिर नजाने र आवश्यक पनि नभएको स्पष्ट गर्दै उनले भूगोलको एकीकरणले मात्रै देश अघि नबढ्ने बताए । विकास र समृद्धि नेकपा एमालेको अर्जुनदृष्टि रहेको र एमालेकै नेतृत्वमा देश समृद्ध बनाउने अठोट उनले व्यक्त गरेका छन् ।

यस्तै उनले माओवादीको १० वर्षे युद्धले मुलुकको विकास र समृद्धि ५० वर्ष पछि धकेलिएको बताएका छन् । ‘५० को दशक नेपालको इतिहासमा अत्यन्तै कहालीलाग्दो अवस्था बन्यो । माओवादीले सुरू गरेको १० वर्षे हिंसाले हाम्रो देशलाई धेरै पछि धकेल्यो । अनुसन्धानहरूको रिपोर्टले पनि ती कुरालाई पुष्टि गरेका छन्,’ सचिव भट्टराईले भने, ‘माओवादीको हिंसाका कारण विकास र समृद्धिको हिसाबले नेपाल झण्डै ५० वर्ष पछि धकेलियो ।’

दलहरूले २०४६ सालपछि ४० को दशक निरङ्कुश राजतन्त्रको विरुद्धमा लडेको, ५० को दशक द्वन्द्वमा फसेको, ६० को दशकमा द्वन्द्वलाई शान्तिपूर्ण ढङ्गले अवतरण गरेको, ७० को दशकमा संविधान बनाइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको र ८० को दशक विकास, समृद्धि र सामाजिक रुपान्तरणको दशकका रूपमा एमालेले अगवाइ गरिरहेको चर्चा उनले गरे ।

‘यो देशमा लोकतन्त्रका लागि हामीले लामो संघर्ष गर्‍यौँ । झण्डै सात दशक बितायौँ । शान्ति र हिंसात्मक आन्दोलनका अनेक रूपहरू हामीले भोग्यौँ । अब राजनीतिक अवस्था बदल्नु छैन,’ उनले भने, ‘अब जनताको अवस्था बदल्न विकास र समृद्धितर्फ सबैको ध्यान जान जरुरी छ ।’ वर्तमान व्यवस्थाप्रति कोही असन्तुष्ट भए पनि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रबाहेक अरु हुन नसक्ने चर्चा गर्दै उनले निरङ्कुश व्यवस्थाको परिकल्पना समेत गर्न नसकिने बताए । ‘हामी कुनै निरङ्कुश व्यवस्थाको अपेक्षा गर्दैनौँ । असन्तुष्टि राख्न पाउने अधिकार यो संविधानले दिएको छ । तर, नेपाल शान्तिपूर्ण तरिकाले प्रतिस्पर्धाको माध्यमबाट समस्याहरू हल गर्ने दिशामा अगाडि बढेको छ ।’

संविधान बनाउनेलगायत विभिन्न काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको एमालेले मुलुकको विकास र समृद्धिको पनि नेतृत्व गरिरहेको उनको भनाइ छ । ‘नेकपा एमाले यो देशमा राष्ट्रियताको पक्षमा असाध्यै मजबुत ढङ्गले उभिएको छ । संविधान बनाउने कुरामा सबै जातीको आत्मसम्मान हनुगेरी अगुवाइ गरेको छ । त्यस क्रममा पार्टी र नेतृत्वबाट केही कमजोरी भएका छन् भने सच्याउँदै जाने हो, अरु विकल्प सोच्ने बेला होइन,’ सचिव भट्टराईले भने ।

उनले अबको १०–१५ महिनापछि एमालेले सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने पनि बताएका छन् । तर, सत्ता कांग्रेसले सम्हाले पनि एमाले सरकारमै रहने र यही गठबन्धन सरकारले २०८४ सालमा निर्वाचन गराउने स्पष्ट गरे । सत्ता सञ्चालनमा कांग्रेससँग सहकार्य भए पनि निर्वाचनमा प्रतिस्पर्धा कांग्रेससँगै हुने उनले स्पष्ट गरेका छन् । सत्तासहकार्य भएका कारण निर्वाचनमा पनि गठबन्धन हुन्छ भनेर भ्रम नपाली पार्टीको काम गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

Health Tips Ad Road Block