काठमाडौं । समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि अब बन्ने संरचनाहरु पनि सुरक्षित र दिगो हुनु पर्ने देखिएको छ । यसै विषयलाई ध्यान दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अब बन्ने संरचनाहरु पनि सुरक्षित र दिगो बनाउनुपर्नेमा जोड दिएका छन् । कुनै पनि संरचना गर्दा ठूलो धनराशी र समय समेत खर्च हुने भएकाले लागतको तुलनामा अधिक प्रतिफल दिने सुरक्षित संरचना बनाउनेतर्फ ध्यान जानुपर्ने उनको भनाई छ ।
स्किल सेवाले काठमाडौंमा आयोजना गरेको ३ दिने ‘नेशनल घर निर्माण फेष्ट’ मा उपस्थित भएका मन्त्री दाहालले सरकारी र सार्वजनिक संरचनाहरु मात्र नभई निजी, आवसीय, सामुदाय तथा सबै प्रकारका संरचनाहरु दिगो बनाईनु पर्ने धारणा राखे । नेपाल भूकम्पीय जोखिम भएको मुलुक भएकाले भवन निर्माण संहिताको पूर्ण पालना, विश्वस्तरीय प्रविधिको उपयोग तथा गुणस्तरी निर्माण सामाग्रीको प्रयोग गरि दिगो र सुरक्षित निर्माणमा जोड दिनुपर्ने उनले बताए ।

तीन दिन चलेको कार्यक्रममा १० हजार जनाभन्दा बढीले अवलोकन गरि परामर्श सेवा लिएको आयोजक संस्थाका महेश तिमल्सिनाले जनाए । विभिन्न प्रकारका घरका ‘मोडल’हरुबीचमा प्रतिष्पर्धा समेत गराईएकोमा उत्कृष्ट तीनलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो ।





















