काठमाडौं । नेपाल आयल निगमले आज बिहान १ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँले घटाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट २८ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार नेपालमा मूल्य घटाएको निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्रतिलिटर पेट्रोलमा ०.५० रुपैयाँ र प्रतिसिलिण्डर एलपि ग्यासमा ६.२७ रुपैयाँले बढेर तथा प्रतिलिटर डिजेलमा ०.९० र हवाई इन्धनमा ०.४२ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम आज बिहान १ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल र मट्टितेलमा १ रुपैयाँले घटाएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
साथै पेट्रोल आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एलपि ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ।






















