काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ अर्बको नागरिक बचपत्र–२०८६ र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ ।
पाँच वर्षे अवधिका वैदेशिक रोजगार बचतपत्रमा साढे ८ प्रतिशत र नागरिक बचतपत्रमा ७ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ । आजदेखि चैत १५ गतेसम्मका लागि बचतपत्र बिक्री खुला रहेको छ । यी बचतपत्रको ब्याज ६÷६ महिनामा भुक्तानी हुने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । बचतपत्रमा पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् ।
यी बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ । कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।






















