काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महानपर्व महाशिवरात्रि बुधबार (आज) धुमधामका साथ देशभरि मनाइँदै छ । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पर्वकारूपमा विभिन्न पुराणमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गरिन्छ ।
यो दिन भक्तजन रातभर जागा रहेर भगवान् शिवको आराधना गर्दै भजन गाउँछन् । महिलाका लागि शिवरात्रिको विशेष महत्व रहेको छ । अविवाहित युवती शिवको प्रार्थना गरेर असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् ।
शिवरात्रिको अघिल्लो दिनदेखि पशुपतिनाथ, शिवमन्दिर, शिवालयमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । आज आराध्यादेव पशुपतिनाथ मन्दिरमा महाकुम्भ मेला लाग्ने गर्दछ । करिब १० हजारको हाराहारीमा साधुबाबाहरूको उपस्थिति पशुपतिमा रहने सरकारी भनाइ छ ।

पछिल्लो समय मादक पदार्थ, गाँजा, भाङ, धतुरो जस्ता वस्तुका सेवनमा शिवरात्रि केन्द्रित देखिँदै जाँदा भने चिन्ता व्यक्त गर्न थालिएको छ । यस पर्वमा हुने विकृति र विसङ्गति हटाउनुपर्ने मत बलियो बन्दै गएको छ ।






















