हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रालिमा २०८१ भदौ ५ गते देखिको विवाद र फागुन १ गतेदेखिको आन्दोलन अन्त्य भएको छ । निष्काशनमा परेका सम्पूर्ण श्रमिकहरुलाई उद्योग व्यवस्थापन पक्षले बिना शर्त पुनर्बहाली गर्ने सहमतिपछि विवाद र आन्दोलन अन्त्य भएको हो । बिहीबार श्रम कार्यालय हेटौंडामा भएको त्रिपक्षीय वार्तापछि सम्पूर्ण श्रमिकहरु बिना शर्त नियमित रोजगारीमा बहाली गर्ने सहमतिपछि आन्दोलन अन्त्य भएको हो । एमालेनिकट नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको नेतृत्वमा भएको आन्दोलन र त्यसपछिको वार्ताले श्रमिक र व्यवस्थापनबीचको सहमति कायम गराएको हो ।
उद्योग र श्रमिकबीच २०८१ भदौ ५ गतेदेखि विवाद जारी रहेको थियो । विवादका कारण उद्योगले २०८१ माघ १४ गते ९६ जना श्रमिकहरुलाई माघ २९ गतेदेखि सेवा समाप्त हुने भनेर गैरकानुनी सूचना प्रकाशित गरी निष्काशन गरेको थियो । त्यसको विरोधमा फागुन १ गतेदेखि जिफन्ट अन्तर्गतको समग्र उद्योग ट्रेड यूनियन नेपाल र जिफन्ट प्रदेश कमिटी शसक्त विरोधमा उत्रिएको थियो । साथै जिफन्टका २३ वटै घटकले यसलाई साथ दिएका थिए । त्यही आन्दोलनको शक्तिमा निर्धारण भएको फागुन ८ गते बिहीबारको श्रम कार्यालय हेटौंडामा भएको वार्ताले यसलाई निष्कर्षमा पुर्याएको हो ।
आन्दोलनलाई शसक्त्त बनाउन जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल, सचिव कृष्ण रिमाल र समग्र उद्योग ट्रेड यूनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामी लगायतको उपस्थिति र वार्ताले यसलाई सम्भव बनाएको जिफन्ट बागमती प्रदेशका उपाध्यक्ष अर्जुन अर्यालले बताए । वार्ताका माध्यमबाट निष्काशनमा परेका सम्पूर्ण श्रमिकहरु बिनाशर्त नियमित रोजगारी अन्तर्गत बहाली भएका र थप ६ जना समयगततर्फ कार्यरत श्रमिकहरु समेतलाई नियमित गर्ने निर्णय गरी कुल १०२ जना श्रमिकहरुलाई नियमित गराउने सहमति भएको उनले जानकारी दिए । एक जनाको भने अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरि नेपालले भने, ‘उद्योगका ११० जना श्रमिकले विगतदेखि नै नियमित प्रकृतिको काम गर्ने तर समयगत प्रकृतिको रोजगार सम्झौता गराएर व्यवस्थापन पक्षले काममा लगाइएको भन्दै श्रमिकहरुले गत भदौ ५ गते श्रम कार्यालयमा निवेदन गरेर नियमित प्रकृतिको श्रमिक रहेको र सोही अनुरुपको सम्झौता गर्नुपर्ने माग दाबी पेश गरेका थिए । श्रम कार्यालयमा श्रम विवाद जारी रहेको अवस्थामा त्यहाँको व्यवस्थापकले सूचना टाँस गरी ९६ श्रमिकलाई एकैचौटी निष्काशन गरेको विरोधमा हरेक दिन २ घण्टा धर्ना र बिरोध गर्दै फागुन १ देखि उद्योगको गेट अगाडि विरोध र धर्ना दिएको थियो । आज श्रम कार्यालयमा भएको वार्ताबाट १०२ जना श्रमिकलाई नियमित रोजगारी दिने सहमति भएको छ ।’
नेपाल ट्रेड यूनियन महासंघले श्रमिकको जायज मागमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
यसअघि आन्दोलनलाई व्यवस्थित बनाउन समग्र उद्योग ट्रेड यूनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल र अन्य सदस्यहरुमा धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरियङ कमिटी निर्माण गरी चरणबद्ध आन्दोलन भएका थिए । आजको सहमति पछि भने आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु समाप्त भएको छ ।





















