काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कार्तिक १९ गतेदेखि सर्वसाधारणका लागि ४० करोडभन्दा बढीको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यसैगरी कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ । अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गने भएको हो । यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा कार्तिक २३ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।






















