काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा केही भूमाफियाहरुको संरक्षणमा आफूलाई पनि सुकुम्बासी भन्ने देवी खरेलले हुकुम्बासीको काम गरिरहेको पीडितहरुले आरोप लगाएका छन् । राजधानीमा पीडित तथा सरोकारवालाहरुले पत्रकार सम्मेलनगरी सुकुम्बासीको नाममा धनाड्यहरुले हुकुम चलाएको समेत आरोप लगाएका छन् ।

उनीहरुले पुशपति क्षेत्र विकास कोष अन्तरगतको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा रहेको सुकुम्बासी बस्तीको जमिन नियम विपरित मिलेमतोमा किनबेच तथा प्लटिङ् गरिएको जानकारी गराएका छन् ।
समाजिक अभियान्ता तारा बरालले सरकारले अव्यवस्थित तथा सुकुम्वासी नागरिकलाई बसोबासको लागि व्यवस्था गरिएपनि पछिल्लो समयमा मिलेमतोमा त्यसको किनबेच हुन थालेको खुलासा गरेकी छिन् । बरालले अव्यवस्थित तथा भूमिहिन पीडितहरुको लागि गरिएको बसोबासको व्यवस्थालाई आर्थिक चलखेलको आधार बनाएको जिकिर गरेकी हुन् । बरालले देवी खरेल मुख्य भूमिकामा रहेर सम्बन्धित निकायकोसमेत मिलेमतोमा सो कार्य चलेको बताउँदै भनिन्, “संस्कृति मन्त्री, पशुपति विकास कोष, स्थानीय तहदेखि भूमाफियासमेत मिलेर सरकारी जग्गा कब्जा गरिहरेका छन्, अब यसको जिम्मा प्रधानमन्त्री केपी ओलीले लिनु पर्छ ।”
नेकपा (माओवादी केन्द्र) का नेता छविन्द्रराज कँडेलले सो क्षेत्रमा राजानीतिक आवरणमा वास्तविक सुकुम्बासी पीडितहरुलाई लखेटी केही धनाड्यहरुसँग आर्थिक चलखेल गरिएको बताएका छन् । सामाजिक अभियन्तासमेत रहेका कँडेलले देवि खरेललाई बारम्बार सम्झाउँदा पनि उनले कुरा नसुनेर आफू फस्ने खाडल खनिरहेको ठोकुवा गरे ।
दुर्गा प्रसाईँ अभियानका केन्द्रीय सदस्य कुमार बस्नेतले पशुपति जस्ता पवित्र धार्मिक तथा सांंस्कृतिक स्थलहरुलाई सरकारी स्तरबाटै मास्न खोज्नु दुर्भाग्य रहेको बताए । सो क्षेत्रबाट अविलम्ब बस्ती हटाउनु पर्ने मागसमेत राखे ।
अभियन्ता विष्णु रिमालले कृष्णमया उप्रेती जस्ता वास्तविक पीडतलाई बारम्बार तनाव दिएर हटाउने र दोस्रो मान्छे राखेर आर्थिक लेनदेन गर्नु गैर कानुनी भएको बताए ।
पीडत कृष्ण माया उप्रेतीले विगतमा आफू एक पीडित भएको कारण देवि खरेलले सो ठाउँमा राखेको भए पनि पछि खरेलले माग गरे अनुसारको रकम दिन नसकेपछि आफूलाई हटाउन खोजिरहेको दुःखेसो व्यक्त गरिन् ।






















