हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रालिले गैरकानुनी तवरबाट ९७ जना श्रमिकलाई निष्काशन गरेको भन्दै थालिएको आन्दोलन चर्कँदै गएको छ । निष्काशित श्रमिकको पुनर्बहालीका माग गर्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपालको अगुवाईमा भएको आन्दोलन थप चर्कँदै गएको हो ।
श्रमिकहरुले शान्तिपूर्ण धर्ना एवं विरोध कार्यक्रमलाई निरन्तरता दिँदै तत्काल व्यवस्थापन पक्षलाई माग पुरा गराउन भनेका छन् ।
हाल भइरहेको विरोध एवं आन्दोलनलाई नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी मकवानपुरले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी ऐक्यबद्धता जनाएका छन् ।
विरोध सभाको पाँचौ दिनसम्म आइपुग्दा निष्काशित श्रमिकलाई तत्काल पुनर्बहालीको मागसहित ऐक्यबद्धता जनाउनेहरु बढीरहेका छन् ।
विरोध सभामा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेशका उपाध्यक्ष अर्जुन अर्यालले आन्दोलनरत श्रमिकहरुलाई सम्बोधन गर्दै अब आन्दोलन एउटा कारखानाका श्रमिकहरुको मात्र नभएर जिफन्ट र योसँग आबद्ध २३ वटै घटक युनियनहरुको समेत साझा आन्दोलन भएको बताएका छन् ।
व्यवस्थापकतिर लक्षित गर्दै अर्यालले कानुनको अपव्याख्या गर्ने र गैरकानुनी काम गर्ने कार्य तत्काल बन्द गर्न एवं बिना शर्त यूनियनका सचिवसहित सबैलाई पुनर्बहाली गर्न सचेत गराएका छन् । सचिव र अन्य श्रमिकको पुनर्बहालीसँगै अन्य विषयमा बल्ल छलफल गर्न सकिने उनको भनाइ छ । ‘सामान्ती शैलीमा कानुनको उल्लंघन गरेर अनुचित श्रम अभ्यास गर्ने तिमी व्यवस्थापकज्यू अब पनि तिम्रो व्यवहार सच्चिँदैन भने तिमीलाई कानुनको उल्लर्घन विरुद्धको कारवाही माग गर्न हामी बाध्य हुनेछौ र त्यतिबेला तिमीसँग पश्चताप बाहेक केही बाँकी रहनेछैन ।’ अर्यालले चेतावनीपूर्ण शैलीमा भने ।
श्रमिकहरुले आफूहरुका माग तत्काल पूरा नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । व्यवस्थापन पक्षको गलत कदम नसच्चिँदासम्म जिफन्टले साथ दिइरहने प्रतिबद्धता जनाउँदै आन्दोलन थप चर्कने अवस्था बन्न नदिन चेतावनीसमेत दिइएको छ ।
यता समग्र उद्योग ट्रेड यूनियन नेपाल केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल, अन्य सदस्यहरुमा धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरियङ कमिटी निर्माण गरेर व्यवस्थितरुपमा अगाडि बढेको र माग पुरा नभएसम्म नछाड्ने उनीहरुको चेतावनी छ ।

























