काठमाडौं । गैरआवासीय नेपाली संघको १६ औँ युरोपियन क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन यही २८ देखि ३० मार्च २०२५ मा युरोपको एक सुन्दर शहर माल्टामा आयोजना हुने भएको छ । “Investing in Nepal: unity for Prosperity” भन्ने मुल नाराका साथ माल्टास्थित AX ODYCY Hotel मा आयोजना गरिने यसपटकको सम्मेलन ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल मन्त्रलाई मनन गर्दै विश्वभरका नेपाली समुदायको ऊर्जा र स्रोतहरूलाई नेपालीको समृद्धि र रूपान्तरण गर्ने दिशामा केन्द्रित रहने एनआरएनएले छ।
युरोपेली क्षेत्रीय परिषद् एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) र गैर आवासीय नेपाली संघ माल्टाले संयुक्तरूपमा आयोजना गर्न लागेको सम्मेलनले विश्वभरीका गैर आवासीय नेपालीहरूलाई एकत्रित गरी नेपालमा सहकार्य, लगानी र दिगो विकासका अवसरहरूको पहिचान गर्ने लक्ष्य राखेको आयोजकको भनाइ छ ।
युरोपमा रहेका नेपाली प्रवासी लामो समयदेखि रेमिट्यान्स, प्राविधिक विशेषज्ञता र सांस्कृतिक प्रवर्धनको महत्वपूर्ण स्रोत बनेका छन् । तथापि, उनीहरूको क्षमता पूर्वाधार, उद्यमशिलता प्रविधि र दिगो विकास जस्ता क्षेत्रमा अझै पूर्णरूपमा उपयोग गरिएको छैन । यस अवस्थालाई मध्यनजर गर्दै सम्मेलनको उद्देश्य विदेशमा रहेका नेपाली र नेपालका प्रमुख सरोकारवालासँग सहकार्यको अवसर सिर्जना गर्नु पनि रहेको बताइएको छ । विश्वभरका नेपाली समुदायको ज्ञान, सीप, पूँजी र क्षमतालाई नेपालको समृद्धिसँग जोड्न सम्मेलनले घनीभूत छलफल गर्ने एनआरएनएले जनाएको छ । सम्मेलनले लगानीका अवसरहरू, क्षमता निर्माण, दोहोरो नागरिकताको अधिकार र दिगो आर्थिक वृद्धिका लगायतका महत्वपूर्ण क्षेत्रहरूमा छलफल गर्ने र यसबाट एनआरएनलाई नेपालको समृद्धि र विकासमा सक्रिय रूपमा योगदान पुर्याउन उत्प्रेरित गर्ने विश्वास लिइएको छ ।
सम्मेलनले एनआरएनको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बीचको संवाद र सहकार्यलाई मजबुत बनाउनुका साथै आपसी सहकार्य, सूचना र स्रोतहरूको आदानप्रदानलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।
आइसीसीका युरोप क्षेत्रीय संयोजक डा. चिरञ्जिीवि खड्काको संयोजकत्वमा हुन लागेको सम्मेलनमा विभिन्न सत्रहरुमा छलफल हुनेछ। सम्मेलनमा जलविद्युत, पर्यटन, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रका लगानीका अवसरहरूको पहिचान गर्ने, १० अर्बको परियोजनामा एनआरएनको योगदान, नेपाल–युरोपेली उद्यमीहरूसँग संयुक्त सहकार्य प्रवद्र्धन, नेपाली सामान र सेवाहरूलाई विश्वभर प्रोत्साहित गर्नको लागि ई–कमर्श लगायतका विषयमा विभिन्न सत्रमा छलफल हुनेछ । यस्तै दोहोरो नागरिकता अधिकार र गोर्खा समुदायका अधिकार, महिलाहरूको लागि सुरक्षित आप्रवासन, स्वास्थ्य र सुरक्षा उपायहरू र युवा सशक्तिकरण तथा प्रवद्र्धन लगायतका विषयमा घनीभूत छलफल गरिने एनआरएनले जनाएको छ ।
यसै अवसरमा आयोजित क्षेत्रीय महिला तथा युवा बैठकमा संघको महिला तथा युवा फोरमले हालै गरेका कार्यको समीक्षाका साथै आगामी दिनका योजनाहरुका बारेमा छलफल हुनेछ । साथै युरोप क्षेत्रमा रहेका नेपाली महिला तथा युवाहरुको समस्याका बारेमा समेत उक्त अवसरमा छलफल हुनेछ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसहितका पदाधिकारीहरु, युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, माल्टा नजिकका मुलुकका अध्यक्षहरु, संचारकर्मीहरु लगायत करीब २ सय ५० जना सहभागी हुने आयोजकको अनुमान छ ।
विदेशमा आर्जित पूँजी मात्रै नभई ज्ञान र सीपको प्रयोग नेपालको रुपान्तरणको लागि उपयोगी हुनसक्ने सम्भावनालाई सार्थकतामा बदल्न पनि यो सम्मेलन महत्वपूर्ण हुने अपेक्षा आयोजकको छ । सम्मेलनका निष्कर्षलाई बुँदागतरुपमा नेपालको नीतिगत तहमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनपछि ध्यान केन्द्रित गराइने आयोजकको भनाइ छ ।
नेपालको आर्थिक विकासमा सहयोग गर्नको लागि गैरआवासीय नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालका विभिन्न क्षेत्रहरुमा लगानी गरिरहेका छन् । यसर्थ पनि यो सम्मेलनले राष्ट्र निर्माणमा साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रुपमा भूमिका निर्वाह गर्दै मुलुकमा आर्थिक लगानीसँगै बौद्धिक लगानीको बाटो खोल्ने संघले विश्वास लिएको छ ।
आयोजकले गैरआवासीय नेपाली संघ १६ औँ युरोपियन क्षेत्रीय सम्मेलन तथा युरोप क्षेत्रीय महिला तथा युवा बैठकमा उपस्थित भई सम्म्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सरोकारवाला, सञ्चारकर्मी, सहयोगी–सौजन्यकर्ता एवं विश्वभरका गैरआवासीय नेपालीहरुबाट साथ, समर्थन र शुभेच्छा प्राप्त हुने आशा लिएको छ ।






















