काठमाडौं । एनआईसी एशिया बैंकले बैंकको सत्ताईसौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले फागुन २२ गते बिहीबार बिहान ९ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा साधारण सभा आव्हान गरेको हो ।
सोमबार साँझ बसेको बैंकको सञ्चालक समितिको ७०० औँ बैठकको उक्त निर्णय गरेको हो । वार्षिक साधारण सभामा अन्य प्रस्तावहरुको अतिरिक्त प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ५ अर्ब रुपैयाँको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत विशेष प्रस्तावको रुपमा छलफल तथा स्वीकृतिको लागि पेश निर्णय भएको बैंकले जनाएको छ ।
साधारण सभामार्फत बैंकले अधिकृत पूँजी चौध अर्ब बयानब्बे करोड रुपैयाँलाई वृद्धि गरी उन्नाईस अर्ब बयानब्बे करोड रुपैयाँ बनाउन, जारी एवं चुक्ता पूँजी चौध अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसठ्ठी हजार नौ सय बाईस रुपैयाँलाई वृद्धि गरी उन्नाईस अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसठ्ठी हजार नौ सय बाईस रुपैयाँ बनाउन प्रस्ताव पारित गर्ने भएको छ ।
साथै बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ८ गतेदेखि २२ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द हुने पनि जनाएको छ । यसअनुसार फागुन ७ गतेसम्म कायम शेयरधनीले बैंकको साधारण सभामा भाग लिन पाउनेछन् ।
साधारण सभामार्फत आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, बैंक तथा बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड तथा एनआईसी एशिया क्यापिटल लिमिटेडको आव २०८०/८१ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने, बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, बैंकको प्रबन्धपत्रमा र नियमावलीमा समसामयिक संशोधन एवं थप गर्ने लगायतका विषय पारित गरिने बैंकले जनाएको छ ।






















