काठमाडौं । एनएमबि क्यापिटलले आजदेखि सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकितदरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
फण्डले १५ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। यस फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्डको इकाईमा माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन ८ गतेसम्म आवेदन खुला रहनेछ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।






















