Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंमा ५९९ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत

सुधार नगर्नेलाई सञ्चालनमा रोक्ने तयारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौंमा सडकमा नियमित गुडिरहेका ५९९ वटा सवारी साधन परीक्षण गर्दा ३४५ वटाको धुँवा उत्सर्जन मापदण्ड विपरीत पाइएको छ । काठमाडौं महानगरपालिकाले निकायगत समन्वयमा गरेको प्रदूषण चेकजाँचका क्रममा ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत भेटिएका हुन् ।

चेकजाँच गरिएका पेट्रोलबाट चल्ने १४८ वटा सवारी साधनमध्ये २३ वटा फेल भएका छन् । डिजेलबाट चल्ने ४५१ वटा चेकजाँच गर्दा ३२२ वटा फेल भेटिएका हुन् । यसरी हेर्दा पेट्रोलका सवारी साधनभन्दा डिजेलबाट चल्ने धेरै सवारी साधनहरु मापदण्ड विपरीत छन् ।

सवारी साधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन महानगरपालिकाले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ । यस क्रममा फेल भएका सवारी साधनहरुलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ । प्रदूषण नियन्त्रणका लागि पुस २९ गतेदेखि थालिएको यो सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ । यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारी साधनहरुलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरपालिकाको तयारी छ ।

सञ्चालनमा रोक लगाउनु अगाडि सुधार गरेर चलाउने मौका दिइनेछ ।

अहिलेसम्ममा कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारी साधनहरुमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बुलेरो, सामान बोक्ने ट्रकलगायतका सवारी साधन छन् ।

परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ ।

सवारी साधन चेकजाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा काम गरेको छ ।

Health Tips Ad Road Block