Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

क्यान इन्फोटेकमा किन जाने ? महासचिव चन्द्र विलास भूर्तेलले दिए यस्ता कारण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ प्रविधि प्रदर्शनीमात्र नभई व्यवसाय विस्तारको महत्वपूर्ण प्लेटफर्म बनेको छ । सूचना प्रविधिसम्बन्धी नेपालकै सबैभन्दा ठूलो प्रदर्शनीमा देश–विदेशका विभिन्न कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि र सेवा प्रस्तुत गरिरहेका छन् । आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अनुसार क्यान इन्फोटेकले ग्राहक, व्यवसायी र सेवा प्रदायकहरूलाई एकैथलोमा ल्याउँदै प्रविधिको प्रवद्र्धन तथा बजार विस्तारका अवसरहरू सिर्जना गरिरहेको छ । विभिन्न ब्रान्ड तथा कम्पनीहरूले स्टलमार्फत उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना उत्पादन तथा सेवाबारे जानकारी प्रदान गरिरहेका छन् ।

यस वर्षको क्यान इन्फोटेकमा सूचना प्रविधि क्षेत्रमा क्रियाशील स्टार्टअप कम्पनीहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ । विशेषगरी साइबर सुरक्षा, कृषि प्रविधि, हस्पिटालिटी, बैंकिङ सोलुसन तथा अन्य अत्याधुनिक प्रविधि समाधानहरू अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेका छन् । स्टार्टअप कम्पनीहरूका लागि सम्भावित लगानीकर्ता, साझेदार र ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर मिल्नुका साथै आफ्ना नवीनतम प्रविधि तथा समाधानहरू बजारमा स्थापित गर्न क्यान इन्फोटेकबाट सहयोग पुगेको छ । यसै सन्दर्भमा क्यान महासंघ र इन्फोटेकका सम्बन्धमा अर्थप्रणाली डटकमले क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलसँग गरेको कुराकानीको संपादित अंशः

क्यान महासंघमा संलग्नता

अप्रत्यक्ष रुपमा सन् १९९५ देखि क्यान महासंघमा आबद्ध छु । प्रत्यक्षरुपमा १५ वर्षदेखि क्यानमा सँगसँगै हिँडिरहेको छु ।

आइटी क्षेत्रमा योगदान

नेपाल वायरलेस नेटवर्क प्रोजेक्ट म्याग्दीमा सन् २००४ देखि २००५ देखि सञ्चालन गरिएको थियो । इन्टरनेट फ्री भनेर महावीरपुनको त्यो प्रोजेक्टमार्फत गाउँगाउँमा फ्रि इन्टरनेट पुर्याएका थियौं । त्यसपछि पनि काठमाडौंमा नै रहेर ती गाउँहरूमा आवश्यक सहयोगहरू उपलब्ध गराइरहेका छौं । त्यसबाहेक म प्राध्यापन पेशामा पनि संलग्न छु । मैले पढाएका विद्यार्थीहरुले आज गुगल, एमेजन जस्ता आइटीको सर्वोच्च संस्थाहरुमा काम गरिरहेका छन् । कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङ तिनकुनेमा छ र हिमालयन कलेज फर लर्निङ एक्सिलेन्स भनेर कालो पुलमा रहेको छ । यी दुईवटा कलेज चलाइरहेको छु । फिनटेक एजेन्सी डि पैसा डिजिटल वालेट भन्ने सञ्चालन गरिरहेको छु । निकट भविष्यमा नै एप लन्च गरेर यसलाई बजारमा ल्याउने क्रममा छौं ।

क्यान महासंघ र क्यान इन्फोटेक–२०२५

यो सूचना प्रविधिसँग सम्बन्धित छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा भएको प्रदर्शनी हो । यसमा माथि पृष्ठभूमिमा भनिएजस्तै सफ्टवेयर र हार्डवेयर व्यवसायी एवं व्यक्तित्वहरू, आइटीमा लागेका अन्य व्यवसायिक व्यक्तित्व र युवाहरू लगायत सबैको संलग्नता रहेको छ । सदस्यमा आधारित भएर हामीले यहाँ काम गर्छौं । यो व्यवसाय लक्षित इन्फोटेक हो । यसबाहेक यहाँ विभिन्न सम्मेलनहरू भइरहेका छन् । बिटूबी समिट भनेर बिजनेस टु बिजनेस लिङ्कअपको लागि पनि काम गरिरहेका छौं । त्यो सँगसँगै नीति निर्माणतिर पनि सरकारलाई सुझाव दिने गर्दछौं । आइटीसम्बन्धी कुनै कपिराइटको विषय आयो भने हामी सरकारलाई राय सुझाव उपलब्ध गराउँछौँ । भन्सारमा कुनै सामान पहिचान हुन सकेन भने त्यसलाई हामीले सहजीकरण गर्नेछौँ । यी लगायत अन्य धेरै मन्त्रालयबीच अन्तरमन्त्रालय समन्वय पोलिसी ड्राफ्ट गर्ने, करिकुलम ड्राफ्ट गर्ने लगायतका सुझावहरु दिने गर्दछौं ।

क्यान इन्फोटेकमा मानिसहरू पुग्नुपर्ने कारण

आज नयाँ नयाँ प्रविधि बनिरहेका छन् । ती प्रविधिहरू पनि आजको भोलि नै परिवर्तन हुने अवस्थामा छन् । च्याट जिपिटीलाई तल पार्ने गरी डिपसिक आयो । यसको अर्थ प्रविधिले कति छिटो छलाङ मार्यो भन्ने बताउँछ । कुनै कम्पनीको १०० बिलियनभन्दा बढी मूल्य घटाइदिने प्रविधिहरूको विकास आज द्रुतरुपमा भइरहेको छ । त्यो सबैलाई हामीले एकैचोटि देखाउन त सक्दैनौँ तर पनि हाम्रो दैनिक जनजीवनमा प्रयोग हुनेदेखि जति पनि प्रविधिका उपकरणहरु छन् । ती उपकरणलाई अनलाइनमा देखेरभन्दा पनि प्रत्यक्ष हेरेर एकै थलोमा रोज्न सजिलो हुन्छ भन्ने हिसाबले हामीले व्यवस्था गर्न खोजेका हौँ । कसैलाई सामान चाहिन्छ । आज गुणस्तरदेखि सबै कुराहरु अनलाइनमा फोटो हेरेर कारोबार गर्नुपरिरहेको छ । अनलाइन अर्डर गर्दाको अपेक्षा र घर आइपुग्दा ती सामानमा फरक पर्न पनि सक्दछ । तर इन्फोटेकमा आएपछि ती सम्पूर्ण उपकरण एवं विषयवस्तुहरुबारेको सूचना एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । त्यसका लागि पनि इन्फोटेक आउनुपर्दछ । यसपटकको इन्फोटेकमा हामीले नागरिकलाई सरकारले अनिवार्य गरेको राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाएका छौँ । जिल्ला बाहिरका साथीहरु विशेषगरी काठमाडौंमा पढ्दै गरेका विद्यार्थीहरु राष्ट्रिय परिचयपत्र बनाउन कि नारायणहिटीमा गएर लाइन बस्नुपर्छ कि सिंहदरबारमा भनसुन गरेर भित्र प्रवेश गरेर बनाउनुपर्ने अवस्था छ । त्यो झन्झटलाई हटाएर इन्फोटेक परिसरभित्रै यसलाई भर्न सकिने व्यवस्था मिलाइएको छ । नेपालको अन्तरिक्ष मिसनसम्बन्धी कुराहरु यहाँ छन् । योभन्दा अगाडि प्रक्षेपण गरिरहेका स्याटेलाइटका नमुनाहरू इन्फेटेकमा अवलोकन गर्न सकिनेछ । त्यो बाहेक सेल्फ ड्राइभिङ कारका कन्सेप्टहरु, एआइको रोबर्टहरू हेर्न सकिनेछ । प्रोफेसर एआईलाई इन्फोटेकमा राखिएको छ । यस्तै नविनत्तम प्रविधि हेर्न, कतिपय सूचना प्रविधिसँग सम्बन्धित लामो समयदेखि काम गरिरहेका कलेजहरू पनि इन्फोटेकमा उपस्थित भएका छन् । त्यसैले इन्फेटेकमा पुगेर कुन कोर्स पढ्दा राम्रो हुन्छ ? विभिन्न कोर्सबीचको फरक के हो ? भन्ने कुरा पनि बुझ्न पाइनेछ ।

इन्फोटेकको लक्षित वर्ग को–को हुन् ?

विशेषगरी यसमा युवा लक्षित गरिएको छ । प्रविधिप्रेमीहरू जसले दैनिक जीवनमा प्रविधिको उपयोग गरिरहेका छन् उनीहरूलाई लक्षित गरिएको छ । विभिन्न सिस्टम अपडेट, ल्यापटप एवं कम्प्युटर अपडेट, मोबाइल अपडेट, त्यसको लाइफस्टाइल, त्यसमा भएका समस्याहरुसहित यावत विषयको सम्बोधन गर्न हेल्प डेक्स पनि चलाइएको छ । जसले प्रविधिलाई दैनिकरुपमा प्रयोग गरिरहेका छन् उनीहरुले साइबर सुरक्षा कसरी प्रयोग गर्ने लगायतका विषय इन्फोटेकमा छन् । उनीहरू सबै इन्फोटेकका लक्षित वर्ग हुन् ।

क्यान महासंघको आगामी योजना

हामी विगत लामो समयदेखि मुलुकमा डिजिटल ग्यापलाई कम गराउन भूमिका खेलिरहेका छौँ । त्यति हुँदाहुँदै पनि अझै पनि त्यो डिजिटल ग्याप सोचेअनुरुप कम हुन सकिरहेको छैन । त्यसमा अझै पनि काम गर्नुपर्नेछ । त्यसका लागि सचेतनाका कार्यक्रमहरु बृहत रुपमा अगाडि बढाउनुपर्ने खाँचो छ । हामीले दूरदराजमा पनि जनताहरूलाई यो विषयमा जानकारी गराउनुपर्नेछ । प्रविधिको प्रयोग गरेर हामीले धेरै कुराहरु छिटो छरितोरुपमा गर्न सक्छौं भन्ने सिकाउन जरुरी छ । त्यो बाहेक सरकारले डिजिटल नेपाल फ्रेमवर्क भनेर प्रक्षेपण गरेको छ तर त्यसमा प्रभावकारीरुपमा काम भइरहेको छैन । त्यसलाई पनि प्रभावकारी कसरी गर्न सकिन्छ भनेर हाम्रो नयाँ कार्यसमिति आउनासाथै धेरै चोटी यस विषयमा छलफल भइसकेको छ । सरोकारवाला मन्त्रालयसँग नीति र त्यसको कार्यान्वयनका पक्षमा विशेष ध्यान दिने हिसाबले महासंघ अगाडि बढिरहेको छ ।

Health Tips Ad Road Block