काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि वैदेशिक सहायता स्थगित गर्ने आदेशले यूएसएडअन्तर्गतका कार्यक्रम रोकिए पनि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन(एमसीसी) को अनुदानमा सञ्चालित कार्यक्रम प्रभावित नहुने बताइएको छ ।
एमसीसी कम्प्याक्ट कार्यान्वयन गर्न नेपालमा स्थापना भएको एमसीए नेपालका एक अधिकारीले ट्रम्पको आदेशले यो अनुदान प्रभावित नहुने जनाएका छन् । त्यस्तै अर्थमन्त्रालयका अनुसार युएसएआईडीद्धारा मन्त्रालयलाई प्राप्त पत्रमा एमसीए नेपालका बारेमा उल्लेख छैन । पहिल्यै ठेक्कामा गइसकेका, दायित्व सिर्जना भइसकेका र दुई देशबीच जीटूजीमार्फत सञ्चालित कार्यक्रम भएकाले पनि ट्रम्पको आदेशले यो कार्यक्रम प्रभावित नहुने मन्त्रालयको बुझाइ छ ।
मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चार आयोजनाबारे उल्लेख गर्दै भनेका छन्, ‘ USAID र नेपाल सरकारबीच ०५ मे २०२२ मा हस्ताक्षरित Development Objective Agreement (DOAG) मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका (On-Budget On-Treasury) चार वटा आयोजनाहरु क्रमशः USAID Health Direct Financing Project, USAID Agricultural Direct Financing Project, USAID Education Direct Financing Project र USAID Inclusive Policy Direct Financing Project मा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको USAID नेपालले पत्रमार्फत जानकारी गराएको छ। यस ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत USAID श्रोततर्फ कुनै दायित्व श्रृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराईएको छ।’






















