काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ सम्पन्न गरेको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि गत साउन महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित वरिष्ठ पत्रकार भुषण दाहालसँग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणासहित प्रदेश प्रमुख तथा विभिन्न शाखाका शाखाप्रमुखहरुसहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना वरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।
साथै कार्यक्रमका प्रमुख अतिथि भुषण दाहालले सहभागी अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौं प्रश्नको जवाफ दिने आँट र साहस बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे ।
समारोहमा योजनामा छनौट भई सहभागी भएका अभिकर्ताहरुलाई प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार भुषण दाहालले सम्मानपत्र प्रदान गरेका थिए ।
सहभागी अभिकर्ताहरुले नेपालकै चर्चित एवं वरिष्ठ पत्रकार भुषण दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।






















